इलाम– आगामी माघ २४ र २५ गते यहाँ दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ गरिने भएको छ। प्रदेशका करिब ३५० दलित जनप्रतिनिधि सहभागी हुनेछन्।सो कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्य तथा इलामका सम्पूर्ण दलित जनप्रतिनिधि सहभागी हुनेछन्।
भेलामा १ नं प्रदेशबाहेक अन्य छ प्रदेश तथा भारत र भूटानबाट समेत १०० आमन्त्रित सहभागी हुने मूल समारोह आयोजक समितिका संयोजक नवराज शङ्करले बताएका छन्। माघ २४ गते नौमती र झाँकी सहितको या्ली रत्नचोकदेखि गौतमबुद्ध सभागृहमा पुग्नेछ। पहिलो दिनको कार्यक्रममा ‘दलित महिलाः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद तथा दलित अगुवा लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुनेछ।
त्यसै दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा नेपाल जेसिसका केन्द्रीय अध्यक्ष अशोक शङ्करसँग बहस हुनेछ। साँझ चर्चित रेडियो कार्यक्रम बहकिने मनका सञ्चालक साहित्यकार महावीर विश्वकर्माको एकल साहित्य वाचन कार्यक्रम हुनेछ।
दोस्रो दिन प्रदेशका १४ वटै जिल्लाका जनप्रतिनिधिका टोलीनेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने तय भएको छ। त्यही दिन ‘नेपालमा जातपात र छुवाछूत’ बारे विश्वभक्त दुलाल (आहुति), ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सवाल विषयमा आम किसानले विचार राख्नेछन्।
यस्तै ‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुनेछ। त्यसैगरी दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका विषयमा तीन सफल दलित व्यवसायीसँग बहस हुनेछ। कार्यक्रम समापनसँगै इलाम घोषणापत्र जारी गर्ने आयोजक समितिले जनाएको छ।
(रासस)