काठमाडौं– सुमधुर स्वरकी धनी गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनाका कारण उनको निधारमा चोट लागेको छ भने एउटा आँखा पनि निकै गहिरो चोट लागेको छ। साथै उनका हत्केलामा पनि चोट लागेको उनले जानकारी दिएकी छिन्। त्रिशालाले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएकी हुन्। उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन्।
त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा दुर्घटनामा परेको पनि जानकारी दिइन्। यद्यपि, दुर्घटनाका लागि पठाओ सेवा र चालकलाई दोष दिन भने नचाहेको उनले स्पष्ट पारिन्। पछाडि बस्नेलाई पनि हेल्मेट दिने वा अनिवार्य रुपमा हेल्मेट लगाउनै पर्ने नियम बनाए यस्ता सेवा अझै राम्रो हुने भन्दै उनले पठाओलाई सल्लाह पनि दिएकी छिन्। त्रिशालाले विभिन्न कभर गीतहरु गाउने गर्छिन् । नेपाली सांगितिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी छिन्।