काठमाडौं– नेपाली बजारमा बजाजको पल्सर एनएस १६०को एबीएस सहितको मोडल सार्वजनिक भएको छ। बजाजको आधिकारीक बिक्रेता एचएच बजाजले उक्त पल्सर एनएस सिरिजको सुरुवाति मोडल एनएस १६० बजारमा ल्याएको हो।
कम्पनीले यस मोटरसाइकलमा सिंगल च्यानल एबीएस दिइएको छ। यसका अलवा मोटरसाइकलको मेकानिकल र कस्मेटिक पार्टमा कुनै परिमार्जन गरिएको छैन। यो मोटरसाइकलमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ। यसले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार पुरानो मोडलको तुलनामा यसको तौल केही बढेको छ। पछिल्लो समय बजाजले आफ्ना विभिन्न मोडलमा एबीएस सुविधा प्रदान गर्दै आएको छ। पल्सर एनएसले नेपाली बजारमा टीभीएस अपाची आरटीआर–१६० फोर भी, सुजुकी जिक्सर, यामाहा एफजेडएस तथा होन्डा सिबी हार्नेट १६० आरसँग प्रतिस्पर्धा गरिरहेको छ।
बजाज पल्सर एनएस १६० स्टायडर्ड मोडल ट्वीन डिस्क र एबीएससहितको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ, भने नन् एबीएस भेरियन्टको मूल्य २ लाख ८६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।