एजेन्सी– विश्व इतिहासमा यस्ता वैज्ञानिकहरु छन् जस्को आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन्। अमेरिकाको विज्ञान वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरेका थिए।
२८ अप्रिल १९२८ मा जन्मिएका युजिन २० औँ शताब्दीका महान विद्वानमध्ये एक थिए। उनको योगदानका लागि सन् १९९२ मा उनले अमेरिकाको विज्ञान क्षेत्रको राष्ट्रिय पदकसमेत पाएका थिए। युजिनलाई एरिजोनास्थित उल्कापिण्डले बनाएको खाडल बेरिन्जर मेटियोर क्रेटर जस स्थल खाडीहरुको अध्ययनका लागि पनि चिनिन्थ्यो।
युटा र कोलोराडोमा पहिलोपटक युरेनियमको अन्वेषण उनैले गरेका थिए।उनी अमेरिकाको खगोल भूविज्ञान अनुसन्धान कार्यक्रमका पहिलो निर्देशक पनि थिए। साथै उनले ज्वालामुखी प्रक्रियाहरुको पनि अनुसन्धान गरे।
आजभन्दा साढे ६ करोड वर्ष पहिले पृथ्वीमा एक विशाल उल्कापिण्ड खसेका कारण डाइनोसरलगायतका जीवहरुको विनाश भएको र त्यसरी उल्कापिण्ड खसेको ठाउँ मेक्सिकोस्थित युकाटन द्वीप रहेको भन्ने वैज्ञानिक खोजमा पनि उनले सहयोग गरेका थिए।
उनी प्रायः अन्तरीक्षयानमा चढेर चन्द्रमामा जाने कल्पना गर्दथे ।उनले चन्द्रमाको पनि विस्तृत अध्ययन गरेका थिए। यद्यपि उनलाई आफ्नो सपना पूरा गर्ने अवसर कहिल्यै प्राप्त भएन। एक गम्भीर रोगका कारण उनी अन्तरीक्षयानमा जान सकेनन्। सन् १९९७ को जुलाई १८ मा कार दुर्घटनामा उनको मृत्यु भयो मृत्युपछि नासाले उनको सपनालाई केही हदसम्म पूरा गर्ने काम गर्यो। उनको अस्तु अर्थात् लास जलाएको खरानीलाई चन्द्रमामा पुर्याइयो र अन्त्येष्टि गरियो। योसँगै चन्द्रमामा अन्त्येष्टि गरिने उनी विश्वका एकमात्र मानव बन्न सफल भए।