काठमाडौं– कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाख भन्दा बढी बालबालिकाले उपचार गर्ने गरेका छन्। अस्पतालका अनुसार गत आर्थिक वर्षमा बहिरंग सेवामा १ लाख ५५ हजार र आकस्मिक कक्षमा ५५ हजार बालबालिकाले उपचार गराएका हुन्।
अस्पतालका निर्देशक डा.आरपी बिच्छाका अनुसार हरेक वर्ष १० देखि १२ प्रतिशत बिरामी बढ्ने गरेका छन्। गत साउनदेखि पुससम्म ७० हजार भन्दा बढी बालबालिकाले बहिरंग सेवामा उपचार गराएका छन् भने २७ हजार बालबालिकाले आकस्मिक कक्षमा उपचार गराएका छन्। यी मध्ये गतवर्ष १० हजार बालबालिकाको भर्ना गरेर उपचार गरिएको र २ हजार बालबालिकाको शल्यक्रिया गरिएको निर्देशक बिच्छाले जानकारी दिए।
दुई महिनाअघि १० शय्याको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको छ। तर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शय्याको अभावले देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था भने अझै रहेको डा.बिच्छाले बताए।
अहिले कान्ति बाल अस्पतालले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरिएको छ, भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा पनि प्रदान गरिरहेको छ। यसका साथै अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको निर्माण गर्ने योजना समेत अस्पतालको रहेकोे छ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएर नक्सा पाससमेत भइसकेको अस्पतालले जनाएको हो।