काठमाडाैं– लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले चार महिनामा किस्तामा कर तिर्न ठूला करदाता कार्यालयमा निवेदन बुझाएको अधिकारीहरूले बताएका छन्।
सो निजी क्षेत्रको दूरसञ्चार कम्पनीले तिर्न बाँकी रकम प्रत्येक महिनाको मसान्तमा बुझाउने निवेदनमा उल्लेख गरेको बताइएको छ।
ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बीबीसीलाई भने, “उहाँहरूले चार किस्तामा सबै रकम भुक्तानी गर्छौँ भनेर प्रतिबद्धतासहित निवेदन मङ्गलवार पेस गर्नुभएको छ। यसबारेमा निर्णय गर्न भने बाँकी नै छ।’’
केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ। उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने बताइएको छ।
किस्ताको सुविधा
आयकर ऐन २०५८ को दफा ११० ले करदातालाई किस्ताबन्दीको सुविधा माग गर्ने अधिकार दिएको छ।
तर दफा ११९ ले उक्त सुविधा लिँदा थप पाँच प्रतिशत ब्याज बुझाउनुपर्ने व्यवस्था गरेको छ। हाल तोकिएको कर रकमको प्रत्येक महिना १५ प्रतिशत ब्याज तिर्नुपर्ने र किस्ताबन्दीको माग स्वीकृत भएमा उक्त ब्याज २० प्रतिशत पुग्नेछ।
तिर्न बाँकी कर
एनसेलले तिर्नुपर्ने कुल २२ अर्ब ४४ करोड पुँजीगत लाभकरमध्ये १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ। सो रकमको हिसाब गर्दा चार महिनामा तिर्दा प्रत्येक महिना २३ करोड ब्याज लाग्नेछ। पाँच प्रतिशत थपिँदा उक्त ब्याज रकम २७ करोडसम्म हुनेछ।
अधिकारी भन्छन्, “यसलाई अब उहाँहरुले स्वीकार गर्नुभएको छ।’’अब यो सफलतापूर्ण अवतरणको बाटोमा गएको छ।बीबीसी