काठमाडौं– केही महिनायता रिलिज भएका नेपाली चलचित्रका गीतहरुले बजारमा कस्तो चर्चा पाइरहेका होलान् त? तिहारपछि नेपाली चलचित्रका करिब आधा दर्जन गीत रिलिज भएका छन्। जसमा, चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ मा समावेश ‘तिम्रो घरको वरिपरी’ गीत सर्वाधिक हिट भईरहेको छ। यो गीतले युटुबमा करिब ४८ लाख भ्यूज बटुलिसकेको छ। सार्वजनिक भएको करिब एक महिनामै यो गीतले चलचित्रको हाइपलाई माथि पुर्याइसकेको छ।
यसको निर्माण पक्षले अब, नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेको छ। ‘दुःखको काँडा’ बोलको गीत बिहिबार सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक सुदर्शन थापाले भने,‘दर्शकले चलचित्रको पहिलो गीतलाई निकै मन पराउनु भएको छ। दोश्रो गीतले पनि दर्शकको अपेक्षालाई निराश बनाउँदैन।’ यो गीतमा सनिष श्रेष्ठको आवाज छ। अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्रको यो गीतले प्रेमीले प्रेमिकालाई हरेक पलमा साथ दिने भाव व्यक्त गर्छ। गीतमा देवल भण्डारीको शब्द छ। चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ। फागुण २३ गते रिलिज हुने चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुदर्शन थापा र पूजा शर्माको लगानी छ। चलचित्रमा जन्म जय र साम्पाङ राइ सह–निर्माताको रुपमा छन्। सौरभ लामाले खिचेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ। पहिलो सिरिजबाट दर्शक माया बटुल्न सफल पल र पूजाको जोडीको यो कामको प्रतिक्षामा पनि दर्शक आत्तुर छन्।