काठमाडौँ, २१ माघ – नेपाली चलचित्रका एक्सन स्टार निखिल उप्रेतीले ‘आयो भैरव’ नामक चलचित्र निर्माण गर्ने भएका छन्। लेखन तथा निर्देशन उनकै रहेको यस चलचित्र भैरवको सिक्वेलमा बन्न लागेको हो।
केही समय अगाडि उनका चलचित्र भनेपछि दर्शकको धेरै भीड लाग्थ्यो। उनलाई लिएर जोसुकै निर्माताहरू पनि चलचित्र निर्माण गर्न तयार हुन्थे। तर, अहिले दर्शक तथा निर्माताले निखिलको चलचित्रलाई खासै उत्कृष्ट मान्न छाडेका छन्।
निखिलले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष पर्दाबाट हराएका थिए। त्यसपछि आफ्नै निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘भैरव’बाट उनको कमब्याक भयो।व्यावसायिक हिसाबले सफल चलचित्र ‘भैरव’ले दर्शकहरूबाट पनि राम्रै प्रतिक्रिया पाएको थियो। त्यसपछि प्रदर्शनमा आएका उनका कुनै पनि चलचित्रले सफलता पाएका छैनन्।
‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ र ‘भिलेन’ उनका पछिल्ला चलचित्र हुन्। निखिलका चलचित्र लगातार असफल भए पनि उनी अहिले चलचित्र ‘भैरव’को सिक्वेलको तयारीमा छन्। उनले आफैँले चलचित्रको कथा लेखेका छन् भने निर्माण तथा निर्देशन पनि उनकै रहेको छ।
यस चलचित्रका लागि निखिलबाहेक अन्य कलाकारको फाइनल भएको छैन। उनले चलचित्रको नाम ‘भैरव २’ राख्ने तयारी गरे पनि अब ‘आयो भैरव’ राख्ने भएका छन्। चलचित्र राजधानीको अपराधको कथावस्तुमा आधारित हुनेछ।चलचित्र ‘आयो भैरव’ २ करोड रुपैयाँको लागतमा निर्माण हुने भएको छ।
निखिलले आफूलाई निर्देशनमा साथ दिन साउथ चलचित्रका निर्देशकलाई झिकाउने भएका छन्। स्रोतका अनुसार निखिलले चलचित्रमा नायको अभिनयका लागि सौगात मल्लसँग कुरा गरिरहेको खबर आएको छ।