काठमाडौं– अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा बिरामीहरूलाई उपचारका लागी निजी अस्पतालमा पठाउने गरेका पाइएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कान्ति बाल अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित गरेको कार्यक्रममा अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामीहरुलाई निजी अस्पताल पठाउने गरेको आफूले पनि थाहा पाएको जनाए।उनका अनुसार जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट निजी अस्पतालमा र्पुयाएबापत कमिसन लिन्छन् र बिरामी त्यही थला पर्छन्।
मन्त्री ढकालले चिकित्सकहरूको आचरण र व्यवहारमा सुधार गर्न सके मात्रै सरकारी अस्पतालको अवस्था सुधार हुने कुरामा जोड दिए। यसका साथै निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए।उनको अनुसार कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गरिन्छ र औषधि किनमेलमा हुने कमिसनको खेल अन्त्य हुन्छ।
आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको मन्त्री ढकालको भनाई छ। कर्मचारी समायोजन र केही संरचनागत कुरा पूरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै उनले सबै पक्षबाट सहयोगको अपेक्षासमेत गरे।