काठमाडौं– नेपालमा अहिले नाटकहरुले राम्रो लोकप्रियता हाँसिल गरिरहेका छन्। ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक–राजनीतिक अवस्थाको सपाट कथा हो। पद र शक्तिमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवता लगायतको कथा। वर्तमान समयमा खोक्रिँदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो। उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका हुन्।
नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै आम मान्छेको निरीह अवस्थालाई नाटकले चित्रण गरेको छ। नाटकलाई सरल र सरस रुपमा मञ्चमा प्रस्तुत गरिएको छ। ‘हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो। तपाईंको भौतिक आँखाले देखेका दृश्यभन्दा पनि भयानक दृश्य तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु,’ निर्देशक केदार भन्छन्।
‘जामुनको रुख’ नाटक माघ ४ गतेसम्म मञ्चन हुनेछ। नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन्। नाटकसँगै थ्रिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थ्रिएटर’ नामक कला प्रदर्शनी पनि सुरू हुँदैछ। प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरूका कला प्रदर्शनी हुनेछन्।