काठमाडौं– गोकर्णेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मङ्गलबार भएको खेलमा गोकर्णेश्वरले टोखा नगरपालिकालाई २५–१५, २५–५ र २५–१५ अङ्कले पराजित गरेको हो।
समूह ‘बी’ बाट गोकर्णेश्वर नौ अङ्कसहित पहिलो तथा विदुर नगरपालिका छ अङ्कका साथ दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिए। यस्तै अर्को क्वाटरफाइनलको खेलमा चन्द्रागिरिले आयोजक ललितपुर महानगरपालिकालाई २५–१८, १४–२५, २५–२१, १८–२५ र १५–११ अङ्कले हरायो। समूह ‘ए’ बाट चन्द्रागिरि नौ अङ्कसहित पहिलो तथा ललितपुर तीन अङ्कका साथ तेस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको छ। महिलातर्फको खेलमा हेटौँडाले विदुरलाई २५–१८, २५–१७ र २५–२३ अङ्कले पराजित गरेको संयोजक बज्राचार्यले बताए।
पुरुषतर्फ मङ्गलबार भएका क्वाटरफाइनलका खेलमा कागेश्वरी र गोकर्णेश्वर नगरपालिका विजयी भएका छन्। कागेश्वरीले बनेपा नगरपालिकालाई २५–२०, २६–२८, २६–२४ र ३१–२९ अङ्कले पराजित गरेको छ। यस्तै कागेश्वरीले गोदावरी नगरपालिकालाई २५–२०, २५–२१, २२–२५ र २५–२१ अङ्कले हरायो। ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताएका छन्।
पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ।
रासस