काठमाडौ– चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको विवादले एक समय सामाजिक सञ्जाल निकै ततायो। यो विवाद अदालतमा रहेको भएपनि यो विषयमा अझै किनारा लागिसकेको छैन। आपसी विवादमा छविले आफूमाथि कुटपिट गरेको कारण देखाउँदै शिल्पाले छविसँग जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी थिइन्। यो विषयमा अदालतले के निणर्य गर्छ अहिले नै भन्न सकिने अवस्था नरहेको अवस्थामा छवि र शिल्पालाई फैसला कुर्नुको विकल्प छैन।
तर, कतिपयले अदालतको आदेश जे आएपछि शिल्पा र छवि पुनः सँगै बस्न सक्ने आँकलन समेत गरेका छन्। विवादका क्रममा पनि सम्बन्ध सुधारको प्रयास दुवै पक्षबाट भएकाले यस्तो आँकलन फिल्मी क्षेत्रमा गर्न थालिएको हो। यद्यपि, निर्माता ओझाले भने शिल्पासँग सम्बन्ध अव नजोडिने प्रतिक्रिया दिए। ‘शिल्पाले म विरुद्ध अदालतमा डिभोर्स र अंश मुद्दा हाल्नु भएको छ,’ उनले भने ‘यो विषय अव अदालतले टुङ्गो लगाउँछ।’ यो बीचमा शिल्पासँग आफूले भेट्न चाहेपनि उनी सम्पर्कमा नआएको उनको भनाइ छ।
‘केही दिन पहिले शिल्पाको बर्थडेमा म्यासेज पनि गरेको थिएँ। केही बाटो खुलोस् भनेर। तर उनले रेस्पोन्स गरिनन्’ ओझाले थपे ‘शिल्पा र म सँगसँगै बस्ने भन्ने कुरा अब सम्भव रहेन।’ हुन त छविविरुद्ध शिल्पाको मुद्दा मात्र होइन। छविलाई उनको पहिलो पत्नी हेमाले पनि बहुबिबाहको उजुरी हालेकी छन्। शिल्पाले अंश दाबी गर्दै सम्बन्ध विच्छेद मागेपछि हेमाले छवि र शिल्पा बिरुद्ध बहुबिवाहको मुद्दा हालेकी हुन्। उक्त मुद्दाका कारण छबि र शिल्पा विरुद्ध केही पहिले पक्राउ पुर्जी समेत जारी भएको थियो। जसका कारण केही समय छबि र शिल्पा फरार समेत भएका थिए। अहिले भने छवि अदालतबाट साधारण तारेखमा रिहा भएर सार्वजनिक कार्यक्रममा देखिन थालिसकेका छन्।
हेमाको बहुबिवाह उजुरी अहिले पनि चलिरहेको छ। ‘मुद्दा अहिले पनि चलिरहेको छ’ छविले भने ‘पक्राउ पुर्जी जारी भएको थियो। त्यो विभिन्न प्रोसेसबाट अहिले रोकिएको छ। हामीलाई अदालतले बयान लिएर अहिले साधारण तारेखमा छोडेको हो। मुद्दाको फैसला हुन बाँकी छ।’ छवि र हेमाले २०३८ तिर प्रेम बिवाह गरेका थिए। जव २०४० मा छवि फिल्म लाइनमा लागे। उक्त समय फिल्म लाइनमा हिँड्ने धेरै व्यक्तिले सम्पत्ति सिध्याएका थिए। सोही कारण उनको परिवारमा पनि विवाद भयो र छबिले हेमासँग अंशबन्डा गरेका थिए।
‘त्यो समय मेरो कमाइ केही थिएन’ छविले भने ‘बुबाको मृत्युपछि दाजुभाइले बाँड्ने क्रममा मेरो नाममा परेको सम्पत्ति हेमा र मैले अंशबन्डा गरेका थियौ।’ तर सम्बन्ध बिच्छेद भएको थिएन। छोराछोरी पनि मैले हेरिरहेको थिएँ।’ त्यसपछि उनले नायिका रेखा थापासँग विवाह गरेर सम्बन्ध विच्छेद गरे। रेखासँगको सम्बन्ध विच्छेद पश्चात उनले शिल्पासँग विवाह गरेका हुन्।