एजेन्सी – लिभरपुलका मिडफिल्डर साडियो मानेले आफ्नै क्लबका मोहमद सलाह र म्यानचेस्टर सिटीका रियाद माहरेजलाई पछि पार्दै अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन्।
लिभरपुलले २०१८–१९ को च्याम्पियन्स लिग उपाधि जित्दा मानेले निर्णायक भूमिका खेलेका थिए। उनले जारी सिजनमा पनि सानदार सुरुवात गरेका छन्। पछिल्लो तीन वर्षमा शीर्ष तीनमा रहेपनि उपाधि जित्न नसकेका मानेले पहिलो पटक यस वार्ड हात पारेका हुन्। सेनेगलको राष्ट्रिय टोलीबाट खेल्दै आएका मानेले राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गरेका थिए।
‘म यो उपाधि जित्दा निकै खुसी छु। मलाई गर्व छ कि यो अवार्डको हकदार भएँ,’ मानेले भने, ‘ मलाई फुटबल मनपर्छ र वरपर रहेको सबैथोक पनि। सबैमाझ यहाँ उपस्थित हुन पाउँदा खुसी छु। यो अवार्ड म मेरो परिवार, लिभरपुलका सहकर्मी, प्रशिक्षक योर्गेन क्लोप र सबै सेनेगलका मानिसलाई समर्पण गर्न चाहन्छु।’
मानेले गत सिजन प्रिमियर लिगको सर्वा्धिक गोलकर्तास्वरूप गोल्डेन बुट जितेका थिए। यसक्रममा टोली प्रिमियर लिगको उपाधि जित्नबाट १ अंकले चुकेको थियो। यसपटक भने लिभरपुलले अंक तालिकामा १३ अंकको अग्रता बनाइसकेको छ। मानेले जारि सिजन लिगमा ११ र च्याम्पियन्स लिगमा २ गोल गरेका छन्।