एजेन्सी– अमेरिकाको लास भेगसमा आयोजित सीईएस प्रविधिमेलामा रेस्टुराँमा आउने ग्राहकलाई टेबलसम्म खाना लगिदिन बनाइएको रोबट बिरालो प्रदर्शनीमा राखिएको छ। बेलाबट नामकरण गरिएको उक्त रोबट चिनियाँ कम्पनी पुडुटेकले बनाएको हो।
उसले बनाएका अन्य अचम्मलाग्दा रोबट पनि उक्त मेला प्रदर्शन गरिनेछन्। यूबीटेकद्वारा निर्मित योगासन गर्न सक्ने वोकर नामक रोबट पनि प्रदर्शनीमा छ। चार्मिनले विकसित गरेको रोलबटले शौचालयमा ट्वाइलेट पेपरको रोल खोलिदिन्छ। एक विशेषज्ञका अनुसार भविष्यमा सीईएसमा प्रदर्शित रोबटहरू भविष्यमा झन् अचम्मलाग्दा हुन सक्नेछन्।
ग्राहकको टेबलमा खानाको आदेश कुरेर बस्ने बेलाबट बिरालोको छुट्टै ’व्यक्तित्व’ छ। एउटा पुरानो ढाँचालाई अझ परिष्कृत गरेर बेलाबट बनाइएको हो। यसको स्क्रीनमा बिरालोको अनुहार भएको एनिमेशन देखिन्छ। ग्राहकसँग खानाको आदेश लिनुअघि ऊ टेबलनजिकै गएर म्याउँम्याउँ गर्छ। ग्राहकले कान मुसारिदिँदा प्रसन्नता व्यक्त गर्दै “कति न्यानो हात“ भन्छ। तर ग्राहकले धेरै बेर कान समाते भने ऊ रिसाउँछ।
“रिसाउँदै उसले आफ्नो काममा बाधा नर्पुयाउन तपाईँलाई भन्छ,“ पुडुटेक भन्छ। पुडुटेकले चीनका रेस्टुराँहरूलाई उक्त उपकरण बेच्ने उद्देश्य राखेको छ। चीनमा रेस्टुराँलाई खानाको आदेश लिने कर्मचारी पाउन गाह्रो हुने गरेको छ। पुडुटेकले निर्माण गरेका अरू रोबट अहिले विश्वभरि २,००० वटा रेस्टुराँले प्रयोग गरेका छन्।
मङ्गलवार सबैका लागि खुल्ने सीईएस प्रदर्शनीमा विशेष रूपमा डिजाइन गरिएको एउटा रेस्टुराँमा उक्त रोबट बिरालो राखिएको छ। तर वास्तविक परिस्थितिमा बेलाबटलाई काम गर्न त्यति सहज नहुने धारणा प्रविधिविज्ञ पाउलो पेस्कटोरको छ। उनका अनुसार व्यस्त समयमा भिडभाड भएको रेस्टुराँमा रोबटलाई दिशा पहिल्याउन गाह्रो पर्न सक्छ। बीबीसी