एजेन्सी– इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनल खेलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्ध म्यानचेस्टर सिटी विजयी भएको छ। मंगलबार राति भएको खेलमा सिटीले युनाइटेडलाई उसैको घरमा ३–१ गोलको नमिठो हार चखाएको हो।
सिटीको शानदार जितमा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गर्दा एक गोल आत्मघाती भएको हो। मार्कुस रासफोर्डले युनाइटेडको तर्फबाट सान्त्वना गोल फर्काएका थिए।
प्रतिस्पर्धात्मक रुपमा शुरु भएको खेलको १७ औं मिनेटमा सिटीले शुरुवाती अग्रता बनाउन सफल भयो। उसका लागि केल वाल्करको पासमा सिल्भाले गोल गरेका थिए। एक गोल गरेसँगै खेलमा बलियो देखिएको सिटीले ३३ औं मिनेटमा अग्रता दोब्बर बनायो। उसका लागि रियाद महारेजले गोल गरेका थिए। त्यस्तै खेलको ३९ औं मिनेटमा आन्द्रेस पेरेराले आत्मघाती गोल गरेपछि सिटीको अग्रता तेब्बर भएको थियो।
पहिलो हाफमा ३ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप गोल गर्न सकेन भने युनाइटेडले एक गोल फर्कायो। युनाइटेडको लागि ७० औं मिनेटमा मार्कुस रासफोर्डले गोल फर्काएका थिए। त्यसपछि खेलमा अन्य गोल नहुँदा सिटीले ३–१ को जित निकालेको हो।
सिटी र युनाइटेडबीचको दोस्रो लेग सिटीको मैदानमा ३० जनवरीमा हुनेछ। यसैलाई निरन्तरता दिन सके सिटी फाइन्लमा प्रवेश गर्नेछ युनाइटेडलाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ।