रोल्पा– रोल्पा नगरपालिकामा बृहत् खानेपानी योजना शुरु भएको छ। नगरपालिकाका वडा नं १, २ र ४ मा उक्त आयोजना सञ्चालन गरिएको हो। खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम शुरु भएपछि खुशियाली छाएको छ।
आयोजनाबाट उक्तमा रहेका एक हजार ६० घरधुरीका पाँच हजार ८०७ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाको कूल लागत रु ३१ करोड ५२ लाख ४२ हजार ९६४ रहेको छ।
आयोजनाका लागि ७० प्रतिशत रकम एशियाली विकास बैंकको ऋण सहायताबाट व्यहोरिने छ। यस्तै २५ प्रतिशत रकम नगर विकास कोषबाट खानेपानी उपभोक्ता समितिले ऋण लिएर व्यवस्थापन गरिने भएको छ। पाँच प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद लगानी गर्ने भएका छन्।
आयोजनाबाट सम्पवेल चार, रिजरवयर ट्याङ्की आठ र कार्यालय भवन निर्माण हुने लिवाङ बजार खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिएका छन्। आयोजनाको मुख्य लाइन १० किलोमिटर र शाखा लाइन ४७ किलोमिटर हुने बताइएको छ। आयोजनाले एउटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भएको छ।
खानेपानीको उचित व्यवस्थापनको अभाव झेल्दै आएका नगरवासीमा आयोजनाले खुशी ल्याएको नगरवासीको भनाइ छ। ‘विद्यमान योजना निकै पुराना भएका कारण खानेपानी आपूर्तिमा असहजता हुँदै आएको थियो’, स्थानीय तीर्था आचार्यले भने, ‘खानेपानीको अनिश्चितता तथा सरसफाइका लागिसमेत घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यता छ।’ रासस