काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ठाडो आदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ परेका छन्। यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले नियन्त्रणमा लिएको हो।
यादवमाथि गरिब जनतालाई ऋण दिएर चर्को ब्याज असुली गरेको आरोप छ। उनले करिब २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएको र चर्को रकम असुली गरी ५ अर्ब भन्दा बढी ठगी गरेको बताइएको छ।
न्यायका लागि पीडितहरुले महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा आईजीपी खनालले यादवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सर्लाही प्रहरीलाई निर्देशन दिएका थिए।
पीडितहरुका अनुसार रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले पटकपटक गरी सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेका छन्। यादव र शाहले मिटरब्याज लगाएर सर्वसाधारणलाई ठग्दै आएकाे बताइउकाे छ।
आईजीपीले ठाडो आदेश दिएसँगै यादवलाई नियन्त्रणमा लिइएको र अर्का आरोपी रौनियारको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पिडितहरुले यसअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत न्यायका लागि गुहारेका थिए।
(यस समाचारमा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य तथा सर्लाहिका नेता रामबाबु यादवकाे तस्विरकाे सट्टा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामबाबु कुमार यादवकाे तस्विर भुलवश प्रयाेग भएकाेमा सच्चाइएकाे छ। साथै यसबाट निज बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामबाबु कुमार यादवमाथी पर्न गएकाे असुविधाप्रती हामी क्षमा माग्दछाै।)