काठमाडौं– नेपाल टेलिकमले मोबाइल खरिद गर्दा मोबाइलमा कुन कुन ब्यान्डको फ्रिक्वेन्सी चल्छ हरेर मात्र खरिद गर्न आग्रह गरेको छ। नयाँ मोबाइल सेट किन्दा प्राविधिक विवरणमा ध्यान दिनुपर्ने भएको छ।
टेलिकमले फोरजीबाट अधिकतम सुविधा लिन १ हजार ८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट उपयुक्त हुने बताएको छ। नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ।
ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग गरीएको छ।।
हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भएतापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्रामा छन्। मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नु पर्दछ।
फोरजीको अधिकतम उपयोगको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ। त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ। यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ।
हाल टेलिकमका फोरजी सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख भन्दा बढी छन् भने कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ।