काठमाडौं– गत मंङ्सिर अन्तिम साता बूढानीलकण्ठमा दुर्घटना भएको कारमा नायिक परमिता राणा पनि सवार रहेको खुलेको छ। राणाले घटनाको तीन सातापछि फेसबुकमा स्टाटस लेख्दै कारमा आफू पनि रहेको स्वीकारेकी हुन्। यसअघि २८ मंसिरमा बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो।
अत्याधिक मादक पदार्थ सेवन गरेका चालक २१ वर्षीय पृथ्वी मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकोटाको मृत्यु भएको थियो। कारमा मल्लसहित करिश मास्के, एलिना थापा सहित अर्की एक जना युवती रहेको बताइएको थियो। ती युवती नायिका राणा रहेको चर्चा भए पनि प्रहरीले पुष्टि गरेको थिएन। उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छन्, ‘चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ।
म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस्, तर म पनि कारभित्रको एक यात्रु थिएँ।’ उनले यो बताउन ढिलाइ गरेकोमा पनि माफी माग्दै भनेकी छन्, ‘मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले धेरै आघात र्पुयाएको छ। यो घटनाले मेरो जीवन नै पूर्णतः परिवर्तन गरिदिएको छ।’ उनले सर्वसाधारणको भावना र पीडित परिवारकै पक्षमा आफू पनि उभिएको बताउँदै आफ्नो बुबाको निधन भएको पुरानो घटना पनि स्मरण गरेकी छन्।
‘मैले पनि दुई वर्षको हुँदा बुबालाई कार दुर्घटनामा गुमाएकी थिएँ, त्यस यता म पनि बुबाको पिंडा र क्रोधका साथ बाँचिरहेको छु’, राणाले लेखेकी छन्, ‘व्यक्तिगत रुपमा मलाई चिन्नेलाई थाहा छ कि म किरालाई पनि चोट पुर्याउन सक्दिनँ। म दयालुपन नै दुनियाँमा सबैभन्दा ठूलो कुरा हो भनेर हुर्किएकी हुँ।’
उनले घटनामा महिलाको मृत्यु भएको घरमा आइपुगेर मात्र थाहा पाएको बताएकी छन्। घटनालगत्तै आफूले के गर्ने भन्ने सोच्नै नसकेको उनले उल्लेख गरेकी छन्। ‘मेरो साथीले बाहिरको वातावरण हेरेर आउँदा पनि मैले केही सोच्नै सकेको थिइन। एक्कासी उसले हात समातेर बाहिर तानेर भागभन्दा मात्र म झसंग भएँ’, उनले भनेकी छन्, ‘बाहिर निस्किएर पनि के गर्ने भन्ने थाहा नपाएर म छेउमै उभिइरहेँ।’ बाटो छेउमा आएर पहिलो पटक आमालाई फोन गर्दा नउठेको उनले बताएकी छन्। त्यसपछि एक जना स्थानीयले आएर त्यहाँ बस्नु सुरक्षित हुँदैन भनेर आफूलाई अन्यत्र लगेको र ट्याक्सीमा चढेर घरसम्म पुगेको राणाले उल्लेख गरेकी छन्।
राणाले यो घटनाबाट ठूलो पाठ सिकेको बताउँदै सर्वसाधारणलाई राति बाहिर निस्किएपछि बिहानै नफर्किन पनि आग्रह गरेकी छन्। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कार चालक मल्लविरुद्ध सवारी ज्यानसम्बन्धी कसूरमा सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ। नायिका राणाले लेखेको स्टाटसमा धेरैले सकारात्मक र नकारात्मक दुबै खालका कमेन्ट गरेका छन्।