काठमाडौं– पछिल्लो समय नेपाली रंगमञ्चमा आधारित नाटकहरु धुमधाम मञ्चन भईरहेका छन्। केही समय अगाडि काठमाडौको प्रज्ञा प्रतिष्ठानको ठुलो हलमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन गरियो। यो नाटकको चर्चा निकै चल्यो। मिडियोदेखि नाट्य क्षेत्रमा लागेका हरेक व्यक्तिले यो नाटकमा विशेष चासो राखे। सुनिल पोखरेल, निशा शर्मा लगायतका कलाकार यो नाटकको मुख्य पात्रमा प्रस्तुत हुनुले पनि नाटकलाई थप चर्चा दिएको थियो। निकै मंहगो टिकट भएपनि प्रज्ञा भवनको ठुलो हल भरिभराउ थियो। तर, नेपाली दर्शकले हेरेको उक्त नाटक अर्गानिकक नाटक भने थिएन। यो नाटक विदेशी पुस्तक ‘मार्क्स इन साहो’ बाट अनुवाद गरेर मञ्चन गरिएको थियो। यो नाटकका नाटककार हावार्ड जीन हुन्। मार्क्स फर्किए मात्र होइन, धेरै नाटकहरु छन्, जुन विदेशी नाटकहरुबाट अनुवाद गरेर नेपालमा मञ्चन गरिएको छ।
गत शुक्रबारबाट शैली थ्रिएटरमा ‘विवाहको प्रस्ताव’ नामक नाटक मञ्चन शुरु भएको छ। जुन नाटक पनि आयातित नाटक हो। रुसी साहित्यकार एन्टोन चेखबले लेखेको यो नाटकलाई नेपालीकरण गरेर मञ्चन सुरु गरिएको हो। सविन न्यौपानेले अनुवाद गरेको यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन्। केही समय अगाडि मण्डलामा मञ्चन भएको नाटक ‘महाभोज’ को चर्चा निकै चल्यो। नाटक हेरेका धेरैले यो नाटकको प्रशंसा गरे। अनुप बरालको निर्देशनमा तयार भएको यो नाटकमा नाट्य क्षेत्रका चिनिएका व्यक्तिहरुको बाहुल्यता थियो। मञ्चमा दयाहाङ राई, रमेश बुढाथोकी, सिर्जना सुब्बा, राजन खतिवडा, विजय बराल, बुद्दि तामाङ, आर्जेश रेग्मी लगायत देखिएका थिए ।
तर, यो नाटक पनि नेपाली लेखकले लेखेको नाटक भने होइन। भारतमा निकै लोकप्रिय भएको यो नाटकलाई नेपालीकरण गरेर मण्डलामा मञ्चन गरिएको थियो। नाटकलाई विप्लप प्रतिकले नेपालीमा अनुवाद गरेका थिए। रंगमञ्चको दुनियामा सर्वा्धिक सफल मानिएको नाटक ‘टलकजंग भर्सेस टुल्के’ पनि अर्गा्निक कथामा बनेको नाटक होइन। यो नाटकलाई पनि खगेन्द्र लामिछानेले नेपालीकरण गरेका हुन्। बाहिरी देशमा मञ्चन भइसकेको यो नाटकलाई खगेन्द्रले नेपाल ल्याएका हुन्। यो नाटकको निर्देशन अनुप बरालले गरेका थिए। चलचित्रको पर्दामा खगेन्द्रलाई मुख्य भूमिकामा देखाइएता पनि नाटकको मञ्चमा भने आशान्त शर्मा मुख्य भूमिकामा देखिएका थिए ।
कुञ्ज नाटकघर खुल्दै गर्दा मञ्चन गरिएको नाटक ‘अँधेरी नगरी चौपट राजा’ पनि आयातित नाटक हो। यो नाटकलाई हिन्दी साहित्यकार भारतेन्दु हरिश्चंन्द्रले लेखेका हुन्। जुन नाटकलाई नेपालीकरण गरेर मञ्चन गरिएको थियो। हाँस्यस्पद रुपमा प्रस्तुत गरिएको यो नाटकलाई आशिष घिमिरे र संगीत सापकोटाले निर्देशन गरेका थिए। माथि उल्लेखित नाम त उदाहरण मात्र हुन्। यस्ता धेरै नाटकहरुलाई नेपालीकरण गरेर मञ्चन गरिएको छ। चर्चा भएका नाटकहरु हेर्ने हो भने आयातित नै बढी छन्। त्यसैले धेरैले नेपालमा आयातित नाटकहरुको बाहुल्यता बढेको टिप्पणी गरिरहेका छन्।
तर, नाट्यकर्मी सुनिल पोखरेल भने यो कुरालाई स्विकार्दैनन्। उनले भने, ‘आयातित नाटकहरु धेरै छन् त्यो कुरा साँचो हो। तर, नेपाली नाटकभन्दा बढी विदेशी छन् भन्नु गलत हो। विभिन्न थ्रिएटरहरुमा नेपाली लेखककै नाटकहरु मञ्चन भएका छन्।’ नेपालमा नाटक लेख्ने लेखकहरु कम हुँदा विदेशी नाटकलाई रोज्नु परेको सुनिल बताउँछन्। उनले थपे, ‘यहाँ नाटक लेख्दिने मान्छेहरु नै हुनुहुन्न। त्यसैले पनि हामी विदेशी नाटक लिन बाध्य छौँ। यदि नेपालीले नै नाटक लेख्नुहुन्छ भने त हामीले विदेशी लिनै पर्ने थिएन।’
विदेशबाट लिएका नाटकहरु देखाउन गाह्रो हुने सुनिलको बुझाई छ। नेपाली भाषामा अनुवाद गरेर, नाटकको मर्म नमारी मञ्चन गर्नु चुनौतीपूर्ण नै भएको सुनिल बताउँछन्। ‘यहाँ लेखिएको भए त नेपाली भाषामा नै हुन्थ्यो। सजिलो भइहाल्थ्यो। तर, विदेशी नाटकलाई त नेपाली भाषा दिदा गाह्रो हुन्छ,’ सुनिल भन्छन्। नाट्यकर्मी अनुप बराल पनि विदेशी नाटक बढि मञ्चन गरिएको कुरालाई स्विकार्न तयार देखिएनन्। तर, नेपाली नाटक भन्दा पनि विदेशी नाटकको चर्चा बढी हुने भएकाले विदेशी धेरै भएको जस्तो लागेको उनी बताउँछन्।
उनले भने, ‘यहाँ विदेशी नाटकहरुको चर्चा बढी हुन्छ। त्यसैले पनि नेपाली नाटकहरु छायामा परेका हुन सक्छन्। तर, संख्यात्मक रुपमा हेर्ने हो भने नेपाली नाटक नै बढी मञ्चन भइरहेका छन्।’ विदेशी कृतिहरु नै वजनदार हुने भएकाले त्यहाँको नाटकहरुको बढी चर्चा हुने अनुपको बुझाई छ। विदेशी नाटकहरुलाई प्रस्तुत गर्दा पनि नेपाली जस्तै बनाएर प्रस्तुत गर्ने गरेको अनुप बताउँछन्। उनले भने, ‘अरुको विषयमा त म भन्न सक्दिनँ। तर, मैले विदेशी नाटक मञ्चन गर्दैछु भने कतै पनि विदेशी लाग्ने गरी गर्दिनँ। हरेक रुपमा त्यसलाई नेपालीकरण गर्न खोज्छु।’ त्यस्तै, कलाकार तथा निर्देशक आशान्त शर्मा नेपाली नाटकमा कथाको अवस्था त विजोग नै भएको बताउँछन्।
अहिले राम्रो नाटक भेट्न गाह्रो भएको उनको भनाई छ। उनी भन्छन्,‘खै ! नाटक लेख्ने मान्छे नभएर हो कि के हो, नाटकको अवस्था त नाजुक नै छ।’ समग्रमा यो सबैका लागि दुःखको कुरा हो। आयातित नाटकहरुलाई प्रस्तुत गर्न सहज हुने भएकाले धेरैको आकर्षण विदेशी नाटकमा भएको उनी बताउँछन्। उनले भने,‘अहिले त जुनसुकै कुरामा पनि सरकारले निषेध गरिरहेको अवस्था छ। नाटकका कथाहरुमा पनि बन्देज गर्दिन सक्छ। त्यहीँ नाटकलाई विदेशी हो भनेर प्रस्तुत गरियो भने सहज हुन्छ। त्यसैले पनि विदेशी नाटकमा झुकाव बढेको हुनसक्छ।’ आशान्तको बुझाईमा भने आयातित नाटकको मात्रा बढ्दै गएको छ। यसले गर्दा नेपाली मौलिक कथालाई पछाडि धकेलिरहेको उनी बताउँछन्।