काठमाडौं– नेपाली चलचित्रको व्यापार राम्रो भयो भन्ने हल्लाले काठमाडौं भन्दा बाहिर केही स्थानमा सिनेमा हल बन्न थालेका छन्। चलचित्रकर्मीहरूको दोस्रो व्यापारिक बजारका रुपमा रहेको चितवनमा एकैसाथ एक मल्टिप्लेक्ससहित दुईवटा फिल्म हल सञ्चालनमा आएका छन्। भरतपुरको सिजी ल्याण्डमार्कको चौथो तलामा आधुनिक सुविधासहितको सिनेप्लेक्स मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ भने पूर्वी चितवनको पर्सामा म्याङ्गो हल सञ्चालनमा आएको छ।
सिनेप्लेक्स हल सञ्चालक गणेश श्रेष्ठका अनुसार हलमा पछिल्लो आधुनिक प्रविधि भित्र्याइएको जानकारी दिए। ‘दर्शकको रोजाई अनुसारको हल भरतपुरमा नै बनेको छ,’ सञ्चालक श्रेष्ठले भने, ‘ल्याण्डमार्कमा अन्य कामसमेत गर्न आउने ग्राहक दर्शकलाई सजिलो होस् भनेर उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने गरी हल तयार गरेका छौं।’ हलमा गणेश श्रेष्ठ, कमल चौधरी र राजेन्द्र प्रधानको गरी करिब ११ करोड लगानी रहेको छ।
मल्टिप्लेक्सको स्क्रिन १ मा १४३ र अर्कोमा २१९ सिट रहेको छ। चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सर्बभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्कृन लगाएको सञ्चालक श्रेष्ठले बताए। हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ। चितवनमा सिनेप्लेक्ससहित दुई वटा हल मल्टिप्लेक्स बनेका छन्।
यस्तै, पूर्वी चितवनको पर्सामा म्याङ्गो जनज्योती हल सञ्चालनमा आएको छ। करिब ५ करोडको लगानीमा तयार भएको हलको क्षमता ३०४ जनाको रहेको सञ्चालक शिवप्रसाद उप्रेतीले जानकारी दिए। उनीसहित ५ जनाको समूहले हलमा लगानी गरेको हो। मल्टिप्लेक्स नभए पनि मल्टिप्लेक्समा हुने सुविधा उपलब्ध गराइएको सञ्चालकको दाबी छ। यो कुराले चितवन बासी एकदमै खुशी भएका छन्।