एजेन्सी– चर्चित बलिउड सुपरस्टार अक्षय कुमार आफूले खेलेको पछिल्लो विज्ञापनका कारण समस्यामा परेका छन्।सोही विज्ञापनलाई लिएर उनीविरुद्ध प्रहरीमा उजुरी समेत परेपछि उनी समस्यामा परेका हुन्। अभिनेता अक्षयविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको हो। उनीमाथि मराठी समूदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ।
अक्षयले हालै एक लुगाधुने पाउडर (डिटरजेन्ट) को विज्ञापनमा अभिनय गरेका थिए। सो विज्ञपनमा उनी मराठी राजाको भूमिकामा देखिएका छन्। युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ। त्यतिबेलै एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्दछिन्। त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ। विज्ञापनमा अक्षय राजाको रूपमा नाँच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन्। यही विज्ञापन नै आज उनको समस्याको बिषय बनेको छ।
विज्ञापनमा देखाइएका बस्तु र चीजले मराठीहरुको भावना र सम्मानमा चोट पुर्याएको उजुरीमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस सम्बन्धमा अभिनेता अक्षयले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। सर्वसाधरणहरुले पछिल्लो समय यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका छन्।