काठमाडौं– संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन।
यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो। सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको बुझिएको छ।
सभामुखका लागि प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र प्रचण्डले अग्नी सापकोटाको पक्षमा अडान लिँदै आएका छन्। यता उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छिन्।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद्को बैठक पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन्।