एजेन्सी – अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डीको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो।
मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे। एक गोल उपहार पाएको थियो। योहान कावायले सान्त्वना गोल फर्काए। खेलको दोस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट इटिएन १० खेलाडीमा सीमित बन्यो। फोफानाले डि मारियालाई फउल गर्न पुगेका थिए। इटिएन १० खेलाडीमा समेटिएको फाइदा पीएसजीले उठायो।
३९औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए। ४४औं मिनेटमा जेसी मौलिनले आत्मघाती गोल गरेपछि पीएसजी पहिलो हाफमा ४–० ले अघि बढेको थियो। ४९औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी खेलमा ५–० ले अघि बढ्यो। एम्बाप्पेकै पासमा इकार्डीले ५७औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–० को फराकिलो जिततर्फ अग्रसर गराए। ७१औं मिनेटमा योहान काबायीले गोल गरेपनि सेन्ट इटिएन ६–१ ले पराजित हुन पुग्यो।
बुधबार राति नै लिलले एमेन्सलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ। यससँगै फ्रेन्च कपमा सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ। प्रतियोगितामा पीएसजीसँगै स्टेड रेम्स, लियोन र लिल सेमिफाइनलमा पुग्न सफल भए। सेमिफाइनलको तालिका सार्वजनिक भएको छैन।