लाहान– जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष्भित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ।
सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए।
बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ। यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १० हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताएका छन्।
पहिलो चरणमा डोम र मेहतर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिरहाका १७ र सप्तरीका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिसकिएको प्रमुख झाको भनाइ छ। सिरहामा निर्माण हुने जनता आवास भवनका लागि प्रक्रिया अघि बढाइसकेको छ।
प्रदेशसभा सदस्य सुनिताराम मोचीको संयोजकत्वमा रहेको समितिको बैठक केही दिनमै बस्ने तयारी गरिएको जानकारी दिनुहुँदै प्रमुख झाले छिट्टै बैठक बसेर घर निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने बताए। सिरहामा निर्माण हुने घरका लागि बजेट निकासा भइसकेको समेत उनले जानकारी दिए। (रासस)