एजेन्सी– शान्ति सेनाका रूपमा इराकमा खटिएको नेपाली सेनाको सुरक्षाबारे चिन्ता व्यक्त भइरहँदा त्यहाँ कार्यरत सेनाका अधिकारीले इरान–अमेरिका तनावले आफूहरूलाई “खासै असर नपार्ने’’ बताएका छन्।
बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै शान्ति सेनामा खटिएका नेपाली सेनाका सेनानीले “अमेरिकी सैन्य शिविरहरूभन्दा फरक स्थानमा रहेकाले’’ आफूहरू खतरा बाहिर भएको बताए।
बुधवार नेपाली सेनाले शान्ति सेनाका रूपमा इराक, सिरिया र लेबननमा खटिएका आफ्ना सेनाहरूलाई “आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको’’ जनाएको थियो। इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग अनामीको सुरक्षाका लागि ७७ जना नेपाली सैनिकहरू खटिएका छन्।
अमेरिकी शिविरभन्दा टाढा
नेपाली सैनिकहरू किर्कुकमा ६७ जना र एर्बिलमा १० जना खटिएको किर्कुकमा रहेका नेपाली सेनाका सेनानी राजेन्द्र बोगटीले बताए।
बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, “यहाँ सुरक्षा संवेदनशीलता त छ। तर हामी अमेरिकी सेनाको आधार शिविरमा छैनौँ, त्यसलैले धेरै खतरा छैन। हामीसँग उनीहरूको सम्पर्क हुँदैन।’’
उनले दुवै स्थानमा नेपाली सेनाहरू अमेरिकी सेनाको शिविरभन्दा टाढा रहेको जानकारी दिए। इरानले अमेरिकी सेनाको दुई आधार केन्द्रहरूमा हमला गरे पनि राष्ट्रसङ्घीय नियोगहरू रहेको क्षेत्र सुरक्षित रहेको उनको भनाइ छ।
नेपाली सेनाको जिम्मेवारी
बोगटीका अनुसार नेपाली सेनाले इराकमा रहेका दुवै स्थानका राष्ट्रसङ्घीय नियोगका कर्मचारी र राष्ट्रसङ्घको सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी मात्र पाएको छ।
उनले भने, “हामी बसेको स्थान र हाम्रो मिसन भएको दुवै स्थानमा खतरा कम छ। हामीले गर्नुपर्ने काममा हामी क्रियाशील छौँ।’’ हामीलाई सुरक्षा खतरा छैन र मलाई लाग्छ भविष्यमा पनि हुँदैन। हाम्रो अमेरिकीहरूसँग सम्पर्क पनि छैन र नजिकै क्याम्प पनि छैन।
शान्ति सेनामा खटिएका नेपाली सेनाको साङ्केतिक तस्बिर
बुधवार पनि नेपाली सेनाले वक्तव्यमार्फत् इराकमा रहेका सैनिकहरू सुरक्षित रहेको जनाएको थियो। सेनाका अनुसार लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सैन्य बल यूनीफील र सिरियास्थित संयुक्त राष्ट्रसङ्घको ’डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’ अन्डोफमा पनि नेपाली सेनाहरू तैनाथ रहेका छन्।
उनीहरूलाई पनि “विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको’’ वक्तव्यमा जनाइएको छ। परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन पनि सैन्य मुख्यालयले उनीहरूलाई निर्देशन दिएको छ।
शान्ति सेनामा नेपाली
राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा धेरै सैनिक पठाउने देशमा नेपाल पाँचौँ स्थानमा छ। अहिले पनि विभिन्न देशहरूमा साढे पाँच हजार जनाभन्दा बढी नेपालीहरू शान्ति सेनाका रूपमा कार्यरत रहेको सेनाले जनाएको छ।
नेपाली सेनाले पहिलो पटक लेवनानमा सन् १९५८ मा शान्ति सेना पठाएको थियो। नेपाली सेनाका अनुसार हालसम्म १,२६,००० नेपाली सेनाले शान्ति सेनाका रूपमा कार्य गरिसकेका छन्। बीबीसी