कास्की– उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको जनाएका छन्।
नेकपा कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्म्बाधन गर्दै पोखरेलले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षा गरे अनुसार गती लिन नसकेकोले गर्दा आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताए।
उनले बितेका कुराले केहीँ फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। त्यस्तै मन्त्री पोखरेलले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गरे। उनको अनुसार पार्टी एकीकरणका अधिकांश काम सकिएको छ। आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउनेपनि उनको विश्वास रहेको बताए।
सङ्घीय व्यवस्था देशका लागि नयाँ राजनीतिक अभ्यास भएको बताउँदै उनले सरकार गठनयता हालसम्मको समय अधिकांश नीति तथा कानून निर्माणमा व्यतित भएको जनाए। उनले भने, ‘सरकारले आगामी दिनमा विकास लक्षित कार्यक्रम तीव्रताका साथ अघि बढाउने छ।’