एजेन्सी– चिनियाँ मोबाइल निर्माता कम्पनी वानप्लस कम्पनीले आफ्नो नयाँ ‘कन्सेप्ट वान’ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले विश्वकै ठूलो विद्युतीय उपकरणको प्रदर्शनी सीईएस २०२०मा उक्त स्मार्टफोन सार्वजनिक गरेको हो।
याे स्मार्टफोनकाे पछाडिपट्टी इनभिजिबल (नदेखिने) क्यामेरा रहेको छ। कम्पनीले यो नयाँ स्मार्टफोन रेसिङ कार निर्माणकर्ता कम्पनी म्याकलारेनसँग सहकार्य गरी निर्माण गरेको हो। प्रिमियम सहितको यो नयाँ स्मार्टफोन चाँडै बजारमा ल्याउने कम्पनीले जनाएको छ।
स्मार्टफोनलाई सार्वजनिक गर्दै वानप्लसले म्याकलारेनको ७२० एस स्माइडर लक्जरी स्पोर्ट कारबाट आफूहरु प्रेरित भएको बताएको छ। उक्त कारमा इलेक्ट्रोक्रोमिक ग्लास प्यानलसहित रिट्र्याक्टेबल हार्डटप ग्ल्याज्ड रहेको छ।
कम्पनीले कारमा प्रयोग भएको सोही इलेक्ट्रोक्रोमिक सिसा पछाडि पट्टीको प्यानलमा प्रयोग गरेको हो। कम्पनीले अदृश्य ‘ग्लास इफेक्ट’ बनाउन क्यामेरा लेन्स ढाक्न आफ्नो मौलिक ‘पार्टिकल’ प्रयोग गरेको छ। आफैमा पृथक किसिमको यो सिसाले अपारदर्शी कालो कलरलाई ०.७ सेकेण्डमै पारदर्शी बनाउन सक्ने कम्पनीले जनाएकाे छ।
डिजाइनको कुरा गर्दा यो फोनको पछाडि भागमा म्याकलारेनको सिग्नेचर पपैया ओरेन्ज कलर रहेको छ। यद्यपी वानप्लसले उक्त स्मार्टफोनको क्यामेराका अलावा अन्य कुनै पनि फिचर तथा स्पेसिफिकेसन खुलाएको छैन। तर बजारमा हाल उपलब्ध सम्पूर्ण उत्कृष्ट फिचरहरुको प्याकेज सहित यो फोन आउने अपेक्षा गर्न सकिन्छ।