एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो।
साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरे। भ्यालेन्सियाका ड्यानियल परेजो एक गोल फर्काए। खेलको शुरुवातदेखि नै भ्यालेन्सियालाई दवावमा राखेको रियालले १५औं मिनेटमा गोलको खाता खोलेको थियो।
गोलरक्षक जोउमे डोमिनिच पोजिसनमा नरहँदा टोनी क्रुसको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको प्रहारलाई जोउमेले पञ्च गरेर बचाउने प्रयास गरेपनि सफल भएनन्।
३९औं मिनेटमा इस्कोको गाल गर्दै रियाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए। लुका मोड्रिचको प्रहारलाई डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा इस्कोको बललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएको थियो।
६५औं मिनेटमा लुका मोड्रिचले लुका जोभिकको पासमा गोल गर्दै रियाललाई सहज जिततर्फ अग्रसर गराए। मोड्रिच दुई डिफेन्डरको निगरानीम रहेपनि उनले उत्कृष्ट गोल गर्न सफल भएका थिए।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। तर, त्यसपछि थप गाल निस्कन नसक्दा रियाल ३–१ ले विजयी हुन सफल भयो।
दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच खेल हुनेछ। यो खेलमा विजयी हुने टोलीले १२ जनवरीमा रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।