काठमाडौं– कलाकार हिट हुनलाई कति गाह्रो छ, त्यो भन्दा झन गाह्रो हिट भएपछि। गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर–३’ पछि नायक अनमोल केसीलाई नयाँ चलचित्र साइन गर्न समय लाग्यो। उनले, चलचित्र ‘धुपौरे’ साइन पनि गरे। तर, वर्कशप सुरु भएको केही समयपछि उनले यो चलचित्र छाडेको चर्चा भयो। भलै, अनमोलले चलचित्र छाडेको बिषयमा केही पनि बोेलेका छैनन्।
उनले, यसपछि केही हप्ता अगाडि मात्र ‘ए मेरो हजुर–४’ साइन गरे। यो चलचित्र हिट सिरिजको निरन्तरता भएकाले पनि व्यापारिक रुपमा सफल हुनेमा अनमोल ढुक्क छन्। अनमोल मात्र होइनन्, धेरै कलाकारलाई चलचित्र साइन गर्न नै समस्या देखिएको छ। नाम चलेका कलाकार निरन्तर चलचित्र असफल हुँदा होस् या सफल हुँदा नै किन नहोस्, दबाबमा पर्छन् र चलचित्र साइन गर्न गाह्रो मान्छन्। नायक प्रदिप खड्काका गतबर्ष रिलिज भएका २ चलचित्र ‘रोज र लभ स्टेशन’ असफल भएपछि उनले नयाँ चलचित्र साइन गर्न समय लगाए। उनले ‘कबड्डी–३’ मा काम गर्ने चर्चा भयो।
तर, अन्तिममा प्रदिप पनि सुरक्षित बाटोकै खोजीमा लागे। उनी अहिले चलचित्र ‘प्रेमगीत–३’ को छायाँङ्कन गरिरहेका छन्। चलचित्र साइन गर्न अझै समय लगाउने नायकमा त सलिनमान बनियाँ पर्छन्। उनले, नयाँ चलचित्र साइन नगरेको ९ महिना बढी भयो। गतबर्षको अन्तिममा रिलिज भएको चलचित्र ‘यात्रा’ पछि सलिनमान नयाँ चलचित्र सहजै साइन गर्न सकिरहेका छैनन्। उनलाई अफर त गइरहेको छ। तर, ‘यात्रा’ ले बक्स अफिसमा आशातित कमाई नगरेपछि सलिनमान पनि दोधारमा देखिएका छन्।
नायिका वर्षा राउतको हालत पनि उस्तै छ। उनलाई पनि कुन चलचित्रमा काम गर्ने भन्ने दोधार छ। यो बर्ष उनी अभिनित चलचित्र ‘जात्रै जात्रा’ हिट भयो। यो चलिचत्र हिट भएपछि वर्षाले नयाँ चलचित्र साइन गर्न समय लगाएकी छिन्। वर्षा, अब अर्को असफल चलचित्र आफूले सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न समय लगाइरहेकी छिन्। चलचित्र ‘चौका दाउ’ सुपरफ्लप भएपछि डराएकी वर्षालाई ‘जात्रै जात्रा’ ले राहत दिएको थियो। यस्तै, समस्याको जन्जालमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन्। उनी, अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ ले व्यापारिक रुपमा सफलता नपाएपछि साम्राज्ञीलाई भने नयाँ प्रोजेक्ट कुन गर्ने भन्ने दोधार छ।
धेरै कलाकार हिट र फ्लपसँग मतलब नराखी काम गरिरहेका छन्। उनीहरुको हातमा चलचित्रको अभाव पनि छैन र उनीहरु चलचित्र साइन गर्नु अघि खासै सोच्दैनन्। तर, केही कलाकार भने हिट चलचित्र दिनै पर्ने दबाबका कारण नयाँ चलचित्र साइन गर्नु अगाडि धेरै पल्ट सोच्छन्। नेपालमा बर्षेनी सय ८० देखि ९० को हारहारी चलचित्र बन्छन्। जसमध्ये ८० प्रतिशत चलचित्रको व्यापार दयनिय नै हुन्छ। थोरै मात्र चलचित्र हिट हुन्छन्, बाँकी औषत चल्छन्। यसैले, कलाकारहरु असफल चलचित्र बजारमा दिन चाहँदैनन्। यही दबाबले गर्दा उनीहरुलाई चलचित्र साइन गर्नु अगाडि ठूलो दबाब महशुश गर्नु परिरहेको छ। यो कलाकारहरु लागि निकै गभ्भीर समस्या हो।