काठमाडौं– सामान्य भाषामा भन्दा हामीले क्यालोरी भनेको शक्ति भन्ने बुझ्छौं। तर ठोस रुपमा भन्दा क्यालोरी भनेको शक्ति वा ताप नाप्ने इकाईको नाम हो। तपाईको मनमा प्रश्न उठ्न सक्छ त्यसो हो भने खानेकुराहरुमा चाहिँ किन क्यालोरी शब्दको प्रयोग गरिन्छ त ?
वास्तवमा, हामीले खाइएका प्रत्येक खानेकुराहरुले हाम्रो पेटभित्र शक्ति पैदा गर्छ। एक ग्राम प्रोटिनले चार क्यालोरी दिन्छ। त्यसैगरी, एक ग्राम चिल्लो पदार्थले नौ क्यालोरी पैदा गर्छ। त्यसो त मान्छेलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा त्यो व्यक्तिको उमेर, लिंग, शरीरको आकार, शारीरिक अवस्था, वातावरण जस्ता कुराहरुमा पनि निर्भर गर्छ।
मन्छेले चाहिनेभन्दा बढी क्यालोरी लियो भने त्यसलाई भविष्यमा प्रयोग गर्नको लागि शरीरले संचित गर्न खोज्छ। तर यस क्रममा हाम्रो शरीरले प्रतिदिन चाहिने क्योलोरीको एक तिहाई भाग मात्र संचित गर्न सक्छ। फलतः बढी क्यालोरीहरु बोसोमा परिणत हुन थाल्छ। मान्छेहरुमा बढी बोसो लाग्नुको खास रहस्य पनि यही नै हो।