तस्विरः अनलाइन खबरबाट
काठमाडौं– नेपालमा हरेक बर्ष आधा दर्जन भन्दा बढी अवार्ड आयोजना गर्नेहरुले अब यी प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ। किनकी, अवार्ड कसको लागि र किन गर्ने भन्ने प्रश्न टड्कारो समस्या बन्न थालेको छ। यस्ता धेरै उदाहरणहरु छन्। यो साता नै आयोजना भएको ‘कामना फिल्म अवार्ड’ मा मुख्य विधामा अवार्ड पाउने अधिकांश कलाकार अनुपस्थित रहे। कार्यक्रमको माहोल एकदमै खल्लो भयो। उत्कृष्ट नायक, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका, उत्कृष्ट नव–नायकदेखि अन्य थुप्रै विधामा उत्कृष्ट हुनेहरु नै अवार्ड कार्यक्रममा देखिएनन्।
कतिपय विधामा त अवार्ड लिनेहरु नै नहुँदा, आयोजकले अवार्ड स्टेज पछाडि लानु परेको थियो। हुनत, यस्तो उदाहरण पहिलो पटक देखिएको भने होइन। यो बर्षको शुरुवातमै आयोजना भएको ‘डी सिने अवार्ड’ मा पनि अवार्ड पाउनेहरुको उपस्थिती निकै नै फितलो भयो। नेपालमै भएर पनि नव–नायिकाको विधामा अवार्ड पाएकी सुहाना थापा कार्यक्रम हलसम्म पुगिनन्। धेरै कलाकारको अवार्ड अन्य चलचित्रकर्मीले लिईदिएका थिए। एकैछिन, केही बर्ष अगाडि फर्कौ। अहिले त अवार्ड पाउने नै अवार्ड कार्यक्रममा पुग्न चाहँदैनन्।
केही बर्ष अगाडिसम्म नेपालमा अवार्डको गज्जबको क्रेज थियो। हरेक विधामा नोमिनेशनमा पर्नेहरु अवार्ड कार्यक्रममा पुग्थे। अवार्ड कसले पाउँछ भन्ने चर्चा परिचर्चा कार्यक्रम हलमा खुबै हुन्थ्यो। तर, अहिले जो कार्यक्रममा पुग्छ उसैले अवार्ड पाउँछ। यसैले सहजै, अवार्ड कसले पाउँछ भनेर अनुमान लगाउन सकिन्छ। केही समय अगाडि आयोजना भएको एक अवार्ड कार्यक्रममा एउटा रोचक घटना भएको थियो। नोमिनेशनमा परेका एक कलाकार आउँछन् भनेर आयोजकले अवार्ड उनका लागि तयार राखेको थियो।
तर, पछि नोमिनेशनमा परेका अर्का कलाकार आएपछि उनलाई अवार्ड दिइयो। यसरी वुझौ कि, जो कार्यक्रममा पुग्यो उसले नै अवार्ड पायो। विदेशमा आयोजना हुने अवार्डको त झन् उदेकलाग्दो अवस्था छ। अवार्डमा सहभागी हुन जो–जो विदेश पुग्यो, उसैले अवार्ड पाउने गरेका छन्। यसैले, विदेशमा आयोजना हुने अवार्डको क्रेज पनि कमजोर बनिसकेको छ। नेपालमा आयोजना हुने अवार्डहरुलाई ‘चलचित्र क्षेत्रको महोत्सव’ को रुपमा आयोजना गर्न आयोजकले सकिरहेका छैनन्।
चलचित्रकर्मीहरु पनि अवार्ड आयोजकसँगको सम्बन्धका कारण कार्यक्रममा पुग्ने गरेका छन्। यसैले, पाउने नै नआउने अवार्ड किन र केका लागि गर्ने भन्ने प्रश्न उब्जन सक्छ? यस बिषयमा सम्पूर्ण अवार्ड आयोजकले सोच्नुपर्ने बेला आएको छ। तर यो बिषयमा कोही पनि गम्भीर भएर सोच्न चाँहदैनन्। यसरी चलेको छ यही गर्दै जाने हो भन्ने सबैको सोच यही बन्दै गएको छ।