काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको चयन तत्काल हुनुपर्नेमा जोड दिएको छ। सभामुखको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति जुट्न नसकेको अवस्थामा कांग्रेसले यस्तो बताएको हो।
बिहिबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्। उनले राजनैतिक र संवैधानिक प्रश्न उठ्न थालेको जनाउँदै अविलम्ब सभामुख चयन गर्नुपर्ने बताएका छन्।
त्यस्तै देवले सरकार निरंकुशतावादमा पर्दै गएको आरोपसमेत लगाएका छन्। बैठकमा प्रदेश ३ लाई नियमावलि अनुसार प्रदेशको नामाकरण र राजधानी तोक्ने अधिकार दिनुपर्ने कांग्रेसको भनाइ छ। सरकार संविधानअनुसार अघि बढ्न नसक्नुको साथै जनअपेक्षा अनुसार काम गर्न नसकेको कांग्रेसले जनाएको छ।