काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विभेद हुनेगरी कानुन निर्माण नगर्न आग्रह गरेका छन्।
संघीय निजामती सेवा ऐन विधेयकमा नेपाल स्वास्थ्य सेवाको पदपूर्ति विधेयक सम्बन्धमा बिहीबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा उनले एकीकृतखालको कानुन बनाउने हो भने कुनैपनि सेवाका कर्मचारीलाई विभेद नहुनेगरी बनाउन आग्रह गरे।
बैठकमा स्वास्थ्यसचिव खगराज बरालले यसै वर्षदेखि छात्रलाई नर्सिङ अध्ययनका लागि १० प्रतिशत कोटा छुट्याइएको जानकारी दिए। यसअघि, छात्राले मात्र नर्सिङ पढ्ने परम्परालाई परिवर्तन गर्दै सरकारले अबदेखि छात्रलाई पनि नर्सिङ अध्ययनका लागि कोटा छुट्याएको हो।
बैठकमा सांसद झपट रावलले विशेषज्ञताका लागि अध्ययन बिदामा गएको र बिदा सकिएपछि पनि तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई जेल हाल्नेसम्मको व्यवस्था गर्न माग गरेका थिए।