विराटनगर – प्रदेश नं १ का १४ वटै जिल्लामा कूल ११ लाख ९८ हजार ७ सय ४० मेट्रिकटन धान उत्पादन भएको छ। गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९ सय २५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ। यो पाँच दशमलव २५ प्रतिशतले कम उत्पादन हो।
धानको उत्पादन कम हुनाका कारण खडेरी लाग्नु, किसानले समयमै रासायनिक मल नपाउनु र फौजी कीराको प्रकोप बढ्नुका कारण उत्पादन कम भएको निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले जानकारी दिए। प्रदेशभरिमा धानको उत्पादकत्व तीन दशमलव ७ सय ४४ प्रतिहेक्टर हो। रोपाइँ ९३ दशमलव ९३ प्रतिशत भएको थियो। धान तीन लाख २० हजार १ सय ३४ हेक्टर जग्गामा लगाइएको थियो।
समग्रमा हेर्दा सुनसरी, मोरङ र झापाको उत्पादन हेर्दा सबैभन्दा राम्रो देखिन्छ। यी तीन जिल्लाको कूल उत्पादन नौ लाख ३५ हजार ३७१ मेट्रिकटन हो। उत्पादकत्व झापाको चार दशमलव पाँच, मोरङको चार दशमलव एक र सुनसरीको चार दशमलव एक छन्।
प्रदेश नं १ को पहाडका ११ जिल्ला र तराईका तीन जिल्लाको उत्पादनलाई तुलना गर्दा तराईको उत्पादन अत्यन्त राम्रो देखिन्छ। पहाडका जिल्लाको कूल उत्पादन दुई लाख ६३ हजार ३६९ मेट्रिकटन हो। उत्पादकत्व सबैभन्दा बढी झापाको चार दशमलव पाँच र सबैभन्दा कम खोटाङको एक दशमलव ७५ रहेको पाइएको छ। (रासस)