पेचिङ (चीन) — घरेलु बजारमा इन्धनको आपूर्ति बढाउन चिनले तेल र ग्यास उत्खननमा विदेशी कम्पनीलाई अनुमति दिने भएको छ।
सन् २०२० को मे १ देखि चीनमा दर्ता भएका ३० करोड युआन (४ करोड ३० लाख डलर) भन्दा धेरै सम्पत्ति भएका विदेशी कम्पनीलाई उत्खनन र उत्पादनमा सहभागी गराइने चिनियाँ प्राकृतिक संसाधन मन्त्रालयले बताएको छ।
राज्य नियन्त्रित कम्पनीहरुको मात्रै पहुँच रहेका यस क्षेत्रमा पेचिङले पहिलो पटक विदेशी कम्पनीलाई अनुमति दिने भएको हो। ऊर्जा व्यवसायमा निजी लगानी ल्याउन समेत जोड दिइरहेको छ।
यस्तोमा चीनले पछिल्लो कदम चालेको हो। यस अघि भने विदेशी कम्पनीहरुले चाइना नेशनल पेट्रोलियम कम्पनी (सीएमपीसी), चाइना पेट्रोकेमिकल कर्पोरेशन (सिनोपेक) जस्ता राज्यनियन्त्रित कम्पनी चिनियाँ कम्पनीहरुसँग ज्वाइन्ट भेन्चर वा सहकार्यमार्फत मात्रै यी क्षेत्रमा छिर्न पाउने थियो।
शुरुवाती दर्तापछि कम्पनीको अनुमति ५ वर्षसम्म रहने र अर्को ५ वर्षपछि नवीकरण गर्न सकिने बताइएको छ। चिन सरकारका अनुसार नविकरण पछि अनुमति दिएको उत्खनन् क्षेत्र २५ प्रतिशतले घट्नेछ।