काठमाडौं– प्रहरीले नक्कली नेपाली नोटसहित चारजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोकाे टाेलीले चार लाख १३ हजार नक्कली नेपाली नोटसहित राजधानीका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार केही महिनादेखि उनीहरूले उपत्यकामा नक्कली नोट देखाइ ठगी गर्दै आएको थियो। पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्रबहादुर लिम्बू छन्।
नक्कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति रानामगर हुन्। ९० हजार नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपरलगायतका समान बरामद गरेको प्रहरीले जनाएकाे छ। सल्यानका कमल बुढाथोकी बजारमा नक्कली नोट पुर्याउने मुख्य व्यक्ति रहेको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन्।
उनको अनुसार बुढाथोकीकाे साथबाट नक्कली दुई लाख ९८ हजार बराबरको नक्कली नोटसमेत बरामद गरिएको छ। खड्का र लिम्बू भने बुढाथोकी र रानामगरका सहयोगी हुन्। प्रहरीले खड्काबाट २५ हजार नक्कली नोट बरामद गरेको छ।