काठमाडाैं– राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका थिए।
त्यस्तै आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिएका हुन्। आजै उनीहरुले आफ्नो कार्यभार सम्हालेकाे आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिए। उनीहरुको पदावधि पाँच वर्षको हुनेछ।
कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित थिए।
यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि हिजो (बुधबार) सकिएको हो। रासस