कास्की– गण्डकी प्रदेशसभाले गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक सर्वसम्मत् पारित गरेको छ। बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई पारित गरियोस् भन्दै गरेकाे प्रस्ताव प्रदेशसभाले आज सर्वसम्मत् पारित गरेको हो।
यसअघि विधेयकमाथिको छलफलमा सदस्यहरुले जनताको समृद्धि र विकासको चाहना पूरा गर्न प्रदेशमा सुशासन अपरिहार्य भएको बताएका थिए। उनले सुशासनको प्रत्याभूति गराउने गरी काम कारवाही अघि बढाउन विधेयक बहुपयोगी बन्ने विश्वास व्यक्त गरे।
प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले सरकारका काम कारवाही पारदर्शी बनाउन विधेयक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उनले कागज मिलाएर राज्यको साधनस्रोत दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित बनाउनुपर्ने बताए।
अर्का सदस्य कुमार खड्काले सुशासनको विषय भाषणमा नभइ व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए। प्रदेशसभा सदस्य मायानाथ अधिकारीले जनताले अपेक्षा गरे अनुरुपको विकासको चाहनालाई पूरा गर्न सुशासन अपरिहार्य भएको बताउँदै जनतालाई वास्तविक सुशासनको प्रत्याभूति दिन विधेयक सहयोगी बन्ने धारणा राखे।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादी नदीमाथि निर्माणाधीन पुल समयमै सम्पन्न गराउनुपर्ने बताए। उनले राखी–मिजुरे सडक खण्डमा भइरहेको ढिलासुस्ती सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराए।
अर्का सदस्य राजीव पहारीले मुलुकमा विकास निर्माणले तीव्रता लिएको धारणा राख्दै फेवाताल संरक्षणका लागि सिल्टेसन बाँध र सिल्टपोखरी निर्माणमा प्रदेश एवं स्थानीय सरकारले चासो दिएसँगै तालको आयु एवं सुन्दरता बढ्ने विश्वास व्यक्त गरे।
पियारी थापाले धार्मिक क्षेत्रको उत्कृष्ट स्थानमा रहेको कालीगण्डकी दोहन रोकिनुपर्नेमा जोड दिँदै गैरकानूनी रूपमा सञ्चालनमा भएका क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याइन्। प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीका अनुसार प्रदेशसभाको अर्को बैठक माघ ५ गते १ बजे बस्ने छ। रासस