काठमाडाैं _ ललितपुरस्थित नख्खु कारागारमा लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको छ।
कैदीलाई अध्ययन गर्न सजिलो बनाउन तिनै ठाउँमा स्थापना गरिएको पुस्तकालयको कारागार प्रमुख सुरेन्द्र पौडेलले आज उद्घाटन गरे। ती पुस्तकालयमा राजनीतिक, सममामयिक, सामाजिक गरी तीन हजारका दरले करीब ९ हजार पुस्तक रहेको कारागारका सूचना अधिकारी नरेन्द्र परियारले जानकारी दिए।
कैदीबन्दीमा सकारात्मक सोचको विकास होस् भन्ने अभिप्रायले पुस्तकालय स्थापना गरिएको कारागार प्रमुख पौडेलले बताए। पुस्तकालयमा एकै पटकमा ५० जना बसेर पत्रपत्रिका तथा पुस्तक अध्ययन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ।
यसैगरी कारागारका तीन वटै ब्लकमा आयआर्जन तथा सीप विकासको लागि गलँैचा उद्योग स्थापना गरिएको छ। उद्योगमा कैदीले गलैँचा तयार पारेबापत पारिश्रमिक पाउने गर्दछन्। यसअघि कैदीले ज्याकेट, टोपी, गलबन्दी, मुडा बनाएर आयआर्जन गरिरहेका थिए। नख्खु कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी एक हजार ५५० कैदीबन्दी छन्। रासस