जनकपुरधाम _प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आज यहाँ प्रदेश नं २ को जनसाङ्ख्यिक स्थिति प्रतिवेदन सार्वजनिक गरेकाे छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको (यूएनएफपीए)को सहयोगमा प्रदेश नीति तथा योजना आयोगद्वारा सो प्रतिवेदन तयार गरिएको हो।
प्रतिवेदनमा प्रक्षेपित जनसङ्ख्या, महिला घरमूली हुने परिवारको स्थिति, प्रजनन तथा प्रजनन स्वास्थ्य, वैवाहिक स्थिति, प्रजनन दर, गर्भ निरोधका साधनको प्रयोग स्थिति, मातृ स्वास्थ्य सेवा प्रयोगको स्थितिलाई उल्लेख गरिएको छ।
स्वास्थ्य संस्थामा सुत्केरी नगराउनुका कारण, शिशु मृत्यु दर, बाल मृत्युदर, मातृ मृत्यु दर, बसाइँं सराइको स्थिति, जनसङ्ख्याका सामाजिक पक्ष, घरायसी सुविधाको स्थिति, शैक्षिक स्थिति, प्रमुख जातजाति, बोलिने प्रमुख भाषाको स्थितिलाई पनि प्रतिवेदनमा समावेश गरिएको छ।
धर्मको आधारमा जनसङ्ख्या वितरण, गरीबीको स्थिति, महिला हिंसा, अपाङ्गता भएका जनसङ्ख्याको अवस्था, श्रमशक्ति तथा रोजगारीकोस्थिति, आर्थिक रूपमा सक्रिय र निष्क्रिय जनसङ्ख्या, वैदेशिक रोजगारीमा जानेको स्थिति, युवा जनसङ्ख्याको अवस्था, पोषण तथा रोगको अवस्थाका सूचना पनि प्रतिवेदनमा समावेश गरिएको छ।
सो अवसरमा मन्त्री यादवले एकीकृतरूपमा प्रस्तुत गरिएको जनसाङ्ख्यिक प्रतिवेदनले प्रदेशको भविष्य निर्माण तथा प्रगतिमा सहयोग पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले सही तथ्याङ्ले योजना निर्माणमा पनि सघाउने चर्चा गर्दै विगतमा सङ्कलन गरिएका कतिपय तथ्याङ्क गलत रहेको प्रसङ्गसमेत उल्लेख गरे।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले जनसङ्ख्याको स्थितिलगायतका विभिन्न पक्षको यथार्थ चित्रले मात्र प्रदेश तहमा योजना निर्माण तथा कार्यान्वयनमा सहजता प्रदान गर्ने उद्देश्य राखी प्रदेशको जनसाङ्ख्यिक स्थिति तयार पारिएको बताए।
प्रदेशको एकीकृत वस्तुस्थिति विवरण तयार पार्न, राष्ट्रियस्तरका विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्न, प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक आधारभूत सूचना उपलब्ध गराउनुसमेत प्रतिवेदनकोध्येय रहेको उनले स्पष्ट गरे।
युएनएफपीएका प्रादेशिक प्रतिनिधि नरेन्द्र मिश्रले प्रतिवेदनमा जनसाङ्ख्यिक, सामाजिक आर्थिकलगायतका विविध विषयवस्तुको विश्लेषण गरिएको बताए। रासस