सिन्दुपाल्चोक– उजाडिँदै गएको नाङ्गो वन पाखालाई समुदायले मात्र संरक्षण गरी हरियाली जङ्गलमा परिणत गर्न सकिन्छ भन्ने दृढ अठोट बोकेका सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका–१ ठोकर्पाका समाजसेवी नीलप्रसाद भण्डारी विश्वमै उदाहरण प्रस्तुत गर्दै ८२ वर्षको उमेरमा बुधबार यस संसारबाट बिदा भए।
विस १९९५ मा जन्मनुभएका भण्डारी २२ वर्षकै उमेरमा २०१७ सालमा राजनीतिमा प्रवेश गरी त्यसको एक वर्षपछि तत्कालीन ठोकर्पा गाउँ पञ्चायतको वडासदस्य निर्वा्चित हुनुभएको थियो। सोही वर्ष उपप्रधानपञ्च हुँदै २०३५ सालसम्म प्रधानपञ्च भई गाउँको शिक्षा, स्वास्थ्य, वन सडक पुललगायतमा उल्लेख्य योगदान दिएका थिए।
वन मासिँदै गएपछि वातावरणमा समेत असर पर्न थालेपछि उनकै सक्रियतामा २०३० सालमा आतेजाते १६ कोस टाढा रहेको सदरमुकाम चौताराको तात्लेपानी वन नर्सरीबाट गाउँलेले डोकोमा ५०० बोट बिरुवा बोकेर नाङ्गो पाखामा वृक्षरोपण गरेका थिए। फागुन चैतमा रोपिएका बिरुवालाई जोगाउन समुदायले नै तीन किलोमिटर टाढादेखि गाग्री र टिनमा पानी बोकेर सिञ्चित गरी हुर्काउनुका साथै संरक्षणसमेत गरेका थिए। तत्कालीन श्री ५ को सरकारले २०३० साउन २५ गते त्यहाँको वनको संरक्षण गर्ने जिम्मेवारी परीक्षणका रूपमा दुई वर्षका लागि तत्कालीन ठोकर्पा गाउँ पञ्चायतलाई प्रदान गरेको थियो।
नेपाल सरकारको २०७३ जेठ १८ गतेको निर्णयअनुसार सामुदायिक वन विकास कार्यक्रमको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पा र यसका अभियानकर्मी समाजसेवी एंव तत्कालीन प्रधानपञ्च भण्डारी तथा चौतारा वन डिभिजन कार्यालयका तत्कालीन प्रमुख वनविज्ञ डा तेजबहादुर सिंह महत भएको भनी मान्यता दिइएको थियो। विसं २०७४ साउन २५ गते पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा उनी सम्मानित भएका थिए।
तत्कालीन समयमा सरकारी बजेट खर्चिएर तारबार तथा पालेको रेखदेखमा पनि सफलरूपमा वन जोगाउन नसकेको परिस्थितिमा बिना तारबार गाउँलेको पहलमा वन जोगाउने भण्डारीको दुष्प्रयासप्रति वन मन्त्रालय र विभागका तत्कालीन अधिकारीहरु विश्वस्त हुन सकेका थिएनन्। सोही कारण उनको अवधारणा आग्रह सहजरूपमा स्वीकृत नभएपछि धेरै सङ्घर्ष गर्नुपरेको थियो।
अन्ततः उनको प्रयासले सफलता पाएपछि सामुदायिक वनले साकार रूप लिएको छ। उनकै प्रयासले देशमा मात्र नभई आज विश्वमै सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पा हुने सुअवसर प्राप्त भयो। त्यसलाई मान्यता दिन नेपाल सरकारलाई ४३ वर्षको लामो समय पर्खनु पयो्। सामुदायिक वनको स्थापनामा उल्लेख्य योगदान पु¥याउने एक कर्मठ सामाजिक र राजनीतिक व्यक्तित्वलाई गुमाउनु परेकोमा जिल्लाले अपूरणीय क्षति व्यहोर्नुपरेको प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेश नेपालले बताउनुभएको छ।
‘हाम्रो वन जङ्गललाई हामीले नै संरक्षण गरे मात्र हामीलाई फाइदा हुन्छ’ भन्दै स्व भण्डारीले गाउँले भेला गरेर नाङ्गो डाँडालाई हरियालीमा परिणत गरेको स्थानीय बाघ भैरव नमूना माविका पूर्वप्रधानाध्यापक शिवप्रसाद नेपाल स्मरण गर्नुहुन्छ। उक्त विद्यालय भण्डारीले २०१७ सालमा प्राथमिक विद्यालयका रूपमा स्थापना गरेका थिए।
आज भण्डारीकै सक्रियतामा स्थापित सामुदायिक वनको अवधारणा विश्वले अनुकरण गरेको र बिरामी भएर अस्पतालको सघन उपचार कक्षमा रहेकोे समयमा भेट्न जाँदा पनि आफ्नोभन्दा देशको चिन्ता गर्ने सच्चा देशभक्त गुमाउनुपरेको जल अभियानकर्मी कृष्णप्रसाद भण्डारीले बताए।
स्व भण्डारीको सक्रियतामा ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र नेपाल बनाउने नेपाल सरकारले २०७४ पुस २१ गते निर्णय गरेको छ। त्यसका लागि आव २०७४–७५ मा विनियोजित रु ३० लाख बजेटबाट उपलब्ध ४० रोपनी जग्गामा तारबार लगाउने काम सकिएको छ। विस्तृत परियोजना प्रतिवेदनअनुसार रु ३९ करोड ७० लाख बजेट लगानी हुनेछ।
दुई हेक्टर जमीनमा निर्माण गरिने अध्ययन केन्द्रमा विभिन्न सुविधायुक्त १५ वटा भवन निर्माण गरिनेछ। केन्द्रमा अन्तर्रा्ष्ट्रियस्तरका अध्ययनकर्ता, विश्वविद्यालय, महाविद्यालयका छात्रछात्रा वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सबैका लागि सुविधा उपलब्ध हुनेछ। क्यान्सरबाट निधन भएका स्व भण्डारी १३ वर्ष प्रधानपञ्च, १५ वर्ष वन समितिको अध्यक्ष र ३० वर्षसम्म विद्यालय सञ्चालक समितिको अध्यक्ष बनेका थिए।
ब्राह्मण कुलमा जन्मिएका भण्डारी जातीय छुवाछूतको विरोधी थिए। भने सञ्चार जगत्लाई सारै महत्व दिई सहयोग गरेका थिए। स्व भण्डारी २०३३ सालमा गाउँ फर्क राष्ट्रिय अभियान जिल्ला समितिको सदस्य सचिव र २०३८ सालमा बाल मन्दिरको अध्यक्ष भएका थिए। उनकै कार्यकालमा २०४२ सालमा स्व राजा वीरेन्द्र र रानी ऐश्वर्य जिल्ला आउँदा रानीबाट बालमन्दिरको उद्घाटनका साथै सोही दिन राजदम्पतीबाट ठोकपास्थित सामुदायिक वनको अवलोकनसमेत भएको थियो।
स्व भण्डारी किसान सङ्गठनको अञ्चल सभापति, २०४८ सालमा राप्रपा जिल्ला अध्यक्ष, विश्व हिन्दू महासङ्घको अध्यक्ष तथा २०५९ सालमा जिल्ला विकास समितिको सभापति भई काम गरेका थिए। उनले दुई वर्षअघि ‘ठोकर्पा सामुदायिक वन विश्वको पहिलो अभियान’ नामक पुस्तक प्रकाशित गरेका थिए। हाल जिल्लामा ५२६ सामुदायिक वन समूह छन् भने देशभर कूल २२ हजार २६६ सामुदायिक वन समूह रहेका छन्। (रासस)