झापा — झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८ सय ४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जाकारी दिएका छन्।
उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो। अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए। ‘स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो’, उनले भने। ‘अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ।’
स्थानीयस्तरमै सुविधायुक्त स्वास्थ्य संस्था बनाउने उद्देश्यले स्थानीयवासी चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो। नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताएका छन्। अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याइने उनको भनाइ थियो।
हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ। यसैबीच, शहरी विकास तथा भवन निर्माण कार्यालयले कचनकवलको घेराबारीमा रु एक करोडको लागतमा निर्मित स्वास्थ्यचौकी भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ। रासस