काठमाडौं – डिआईजी बिश्वराज पोख्रेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व लिएको धेरै समय भइसकेको छैन्। तर, यहि छोटो समयमा उनले उल्लेख्य चर्चा बटुलिरहेका छन्। महानगरीय प्रहरीको नेतृत्व सम्हालेलगत्तै उनले गरेको ‘सादा पोशाकका घुमुवा प्रहरी हटाउने निर्णय’ले चर्चा बटुल्यो। खराब प्रवृत्तीका सादा पोशाकका घुमुवाका कारण प्रहरीको साख खस्किरहेको अवस्थामा डिआईजि पोख्रेलले गरेको यो निर्णयले ठुलो अर्थ राख्छ। हुन पनि उनले संगठनको आन्तरिक सुद्धिकरणको ध्येयले नै यो कदम चालेको स्पष्ट बुझ्न सकिन्छ। यसैगरी चिसो मौसममा खुल्ला आकाशमुनी रात बिताईरहेकाहरुको उद्धारमा आफैँ रात–रातभर खटिनु पनि प्रशंसनिय नै हो। यहिबिचमा उनले बुधबार किर्तीपुरमा प्रहरी जवानहरुसँग उनीहरुकै मेसमा बसेर सँगै खाना खाए। केहिले यसलाई ‘पब्लिसिटी स्टन्ट’को रुपमा व्याख्या गरेपनि सुरक्षा निकायको बिषयमा जानकारी राख्नेहरु भने सकरात्मक रुपमा व्याख्या गर्दै भन्छन्, ‘यसले ति जवानहरुको हौसला बढाउन मदत गर्छ।’ सतहि रुपमा डिआईजि पोख्रेलले ति जवानहरुसँग खाना खाएको मात्र देखिएला तर, यसले उनीहरुलाई मनोवैज्ञानिक रुपमा निकै ठुलो प्रभाव पार्ने कुरा नकार्न सकिदैँन्। अर्कातिर संगठनकै भावी नेतृत्वको रुपमा चर्चा गरिएका व्यक्तिले आफुँ मातहतकाहरुसँग यसरी नजिकको सम्बन्ध राख्दा संगठन सुदृढिकरणमा पनि टेवा पुग्छ। हुन् त प्रहरी एउटा सरकारी जागीर हो। तर, तालिमको समयदेखी नै यसलाई जागीरभन्दा सेवाको रुपमा बुझ्ने÷बुझाउने गरिन्छ। कडा शारिरीक तालिमको दौरानमा मानसिक रुपमा प्रहरीलाई जनसेवाको लागि तयार गरिन्छ। सरकारी जागिर नै भएपनि प्रहरीको जागीर अन्य सरकारी कर्मचारीको भन्दा निकै भिन्न छ। न कुनै चाड न कुनै पर्व, सधैँ सुरक्षाकर्ममा खटिने नेपालका प्रहरीहरु अन्तराष्ट्रिय मापदण्डभन्दा बढी समय कार्यक्षेत्रमा बिताउछन्, त्यो पनि आधारभुत सेवा र सुविधाको साथमा मात्र। यस्तो अवस्थामा संगठनका उच्च तहका व्यक्ति आएर एउटै टेबलमा बसेर पिरमर्का सुन्दै दुई गाँस खाईदिँदा पक्कै पनि उनीहरुको मनोबल बढ्छ नै। डिआईजि पोख्रेल भन्छन्, ‘म हाकिमको रुपमा त्यहाँ गएको होईन्, सहकर्मीको रुपमा उनीहरुलाई सुन्न गएको, उनीहरुलाई बुझ्न गएको।’ डिआईजि पोख्रेलले शुरु गरेको यो अभियानको सबैभन्दा सुन्दर पाटो के हो भने, उनले मातहतका सबै बरिष्ठ प्रहरी अधिकारीहरुलाई पनि हप्ताको एकपटक अनिवार्य रुपमा आफ्ना ‘जुनियर’ कर्मचारीहरुसँगै खाना खान भनेका छन्। स्पष्ट छ, यसले ‘प्रहरीभित्र रहेको सिनियर र जुनियरको भावनालाई घटाउने छ र संगठनभित्र एक किसिमको समानताको भावलाई बढावा दिनेछ। डिआईजी पोख्रेल थप्छन्, ‘काँधको फुली फरक भएर के भो, हामीले लगाउने बर्दि त एउटै हो।’