एजेन्सी– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले एक संकल्प प्रस्ताव पारित गर्दै इरानविरुद्ध अमेरिकी राष्ट्रपतिले युद्ध गर्न सक्ने राष्ट्रपतिको अधिकारलाई सीमित पार्न सांकेतिक प्रस्ताव पारित गरेको छ।
विपक्षी डेमोक्रेटिकको बहुमत भएको तल्लो सदनमा प्रस्तावको पक्षमा २२४ मत र विपक्षमा १९४ मत परेको थियो। इरानसँगको द्वन्द्वका विषयमा अमेरिकाविरुद्ध कुनै आसन्न आक्रमणको अवस्थामाबाहेक अरु हिसाबले अघि बढ्दा कंग्रेसको अनुमति लिनुपर्ने विषय उल्लेख गरिएको छ।
इरान वा अमेरिका कुनैले पनि थप आक्रमण हुन सक्ने टिप्पणी गरेका छैनन्। अमेरिकाले गएको शुक्रबार इराकमा आक्रमण गर्दा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएको थियो।त्यसपछि इरानले गएको बुधबार इराकस्थित अमेरिकी अखडामा आक्रमण गरेको थियो।
विहीबार अमेरिकी कंग्रेसले पास गरेको संकल्प प्रस्तावले राष्ट्रपतिलाई संसदको अनुमति नलिई इरानविरुद्ध सैन्य बल प्रयोग नगर्न निर्देशन दिएको छ । यद्यपि अमेरिकी कानुनमा राष्ट्रपतिले भीटो प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ। बीबीसी