एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत बिहीबार साउदी अरेबियामा सम्पन्न दोस्रो सेमिफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि दोस्रो हाफमा खेलले रोमान्चक मोड लिएको थियो। दोस्रो हाफमा दुवै टोलीबाट कुल ५ गोल हुँदा बार्सिलोनाले गरेको थप दुई गोलले मान्यता पाएन। दोस्रो हाफको सुरुवातमै कोकेले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए।
त्यसपछि लिओनेल मेस्सी र एन्टोइन ग्रिज्मनले गोल फर्काएर बार्सिलोनालाई अग्रता दिलाए। खेलको अन्तिम समयमा संयमित रहेको एटलेटिकोले अल्भारो मोराटाको पेनाल्टीमा खेल पुनः बराबरीमा ल्यायो। र त्यसपछि एन्जल कोरियाको गोलसँगै एटलेटिकोले खेलमा अग्रता लिएको थियो। उक्त गोल नै एटलेटिकोलाई फाइनलमा पर्यौं पर्याप्त रहयो।
साउदीमा भएको खेलमा बार्सिलोना र अझ विशेष मेस्सीको समर्थनमा बाक्लो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। पहिलो हाफमा नै बार्सिलोनाले अग्रता लिने अवसर सिर्जना गरेको थियो। मेस्सीले जोर्डी अल्बासँग सुन्दर १–२ पास खेल्दै गरेको प्रहार गोलरक्षक यान ओब्लाकले विफल पारेका थिए। पहिलो हाफको अन्त्यतिर पनि ओब्लाकले ग्रिज्मनको प्रहार बचाए।
दोस्रो हाफमा सिमिओनीले हेक्टर हरेरालाई बाहिर राख्दै कोकेलाई मैदान प्रवेश गराए। र उक्त परिवर्तन नै खेलको पहिलो गोल निकाल्न निर्णायक रहयो। कोरिया र जोआओ फेलिक्सले राम्रो मुभ सिर्जना गरेपछि कोकेले गोल गरेका थिए। तर बार्सिलोनाले खेलमा फर्कन लामो समय कुर्न परेन। मेस्सीले ५१ औं मिनेटमा कोके र स्टेफान साभिचलाई छक्याउँदै कमजोर दायाँ खुट्टाले गोल गर्न सफल रहे।
मेस्सीले केहीबेरमा नै दोस्रो गोल गरेपनि रेफ्रीले भीएआरको सहायताले हेर्दा गोल गर्नुअघि उनको हातमा लागेको पत्ता लागेसँगै गोललाई मान्यता दिएनन्। तर त्यसपछि भने बार्सिलोनाले अग्रता लियो। ६२ औं मिनेटमा एटलेटिकोका पूर्व खेलाडी ग्रिज्मनले बार्सिलोनालाई अगाडि बढाए। लुइस सुआरेजको हेडरलाई ओब्लाकले बचाएपनि रिबाउन्डमा ग्रिज्मन गोल गर्न सफल भएका थिए।
सिमिओनीले खेलमा पछि परेपछि दुई खेलाडी परिवर्तन गरे। यसका बाबजुद आक्रमणमा रहेको बार्सिलोनाले अर्को गोल गर्यो तर मान्यता पाएन। भिडालको पासमा जेरार्ड पिकेले गोल गरेपनि भीएआरमा हेर्दा भिडालले मेस्सीबाट पास लिनेबेला नै उनी अफसाइड रहेको देखिएको थियो।

८१ औं मिनेटमा बार्सिलोनाका गोलरक्षक नेटोले भितोलोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि एटलेटिकोले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई अल्भारो मोराटाले सहजै गोलमा परिणत गरे। त्यसको ५ मिनेटमा नै एटलेटिकोले अग्रता लियो। डिफेन्समा लगातार गल्ति गरेको बार्सिलोनाका लागि यसपटक पिकेले बल गुमाउँदा कोरियाले गरेको अन्तिम प्रहार नेटोको हातमा लाग्दै गोलमा परिणत भयो।
बार्सिलोनाले अन्तिममा अन्सु फातीलाई मैदान प्रवेश गराएपनि छोटो समयमा उनले केहि गर्न सकेनन्। अब एटलेटिकोले आइतबार हुने फाइनलमा उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बुधबार पहिलो सेमिफाइनलमा भ्यालेन्सियालाई पराजित गरेको थियो।