ईनरुवा– चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो। आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना शुरु भएको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताएका छन्।
चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपीएसलगायतका उपकरण प्रयोग गर्ने आरक्षका संरक्षण अधिकृत चौधरीले बताएका छन्।
आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने उनले बताए। आरक्षमा तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न शुरु गरेको संरक्षण अधिकृत चौधरीले बताएका छन्।
आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको उनले बताए। आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइन चराको गणना गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो।
चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको छ। आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ। आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेका छन्। (रासस)