काठमाडौं– ‘फूल्यो बाँमरी’ गीतबाट चर्चामा आएकी गायिका प्रिती आले पछिल्लो समय निकै विवादमा आउन थालेकी छिन्। यो विवादले यतिसम्मको चर्को रुप लियो कि उनले ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ बाट नै राजिनामा दिन बाध्य हुनु पर्यो। कहिले ब्याटल दोहोरी गाएर, कहिले एकापट्टी कपाल काटेर दर्शकहरुको चर्को आलोचना खेप्दै आएकी प्रितीले अहिले ‘भुत्रो मायाजाल’ गीतका कारण आफ्नो पदबाट राजिनामा दिनु परेको हो।
गीतमा प्रयोग गरिएको ‘भुत्रो’ शब्द नै अश्लिल भएको भनेर ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ ले उनलाई पदबाट राजिनामाको माग गरेको थियो। मैले पप गीतमा यस्तो शब्द प्रयोग गरेको हो लोक गीतमा होईन भन्दै मिडियामा बोल्दै आएकी प्रितीले अन्त्यमा राजिनामा नै दिनु परेको हो। ‘भुत्रो’ शब्दको अर्थ ‘गुप्ताङ्गका रौ’ भनेर चौतर्फी आलोचना हुँदै आएको बेला उनी यो निर्णयमा पुग्न बाध्य भएकी हुन्।
प्रतिष्ठानका महा–महासचिव सुवास रेग्मीको फेसबुकबाट उनको राजिनामाको खुलासा भएको हो। त्यहाँ उनले राजिनामा पत्र नै पोष्ट गरेका छन्। जसमा प्रिती आले र ज्योति मगर र सरस्वती लामा जस्ता गायिकाले अब छुट्टै प्रतिष्ठान खोलेर बस्दा हुन्छ, लोकगीतमा यस्तालाई राख्नु हुँदैन भन्ने खालका धेरै प्रतिक्रिया आएका छन्। प्रिती ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ नेपालको उपत्यका समन्वय समितिको सदस्य एवं महिला संयोजक रहेकी थिईन्।