कञ्चनपुर – भीमदत्त नगरपालिकाले दातृ निकायसँगको सहकार्यमा पुल निर्माण गरेपछि स्थानीय बासिन्दाले जोखिम मोलेर खोला तर्नुपर्ने दिनको अन्त्य भएको छ।
नगरपालिकाको वडा नं १० श्रीलङ्का टोलको खोलामा पुल नहुँदा वर्षातका बेला स्थानीय बासिन्दाले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। खोलाको पानी बस्तीमा छिर्ने भएकाले स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए। पुल निर्माणसँगै तटबन्धको समेत व्यवस्था गरिएकाले पहिला जस्तो बस्तीमा पानी छिर्ने गरेको छैन।
‘वर्षातका बेला पूर्वतर्फ खोलामा बाढीको पानी उर्लेर आउथ्यो’, स्थानीय वासुदेवी सार्कीले भने, ‘पूर्वतर्फबाट महाकाली नदीको बाढी आउने भएकाले ज्यान जोगाउन निकै मुश्किल थियो।’पुल बन्नुअघि खोलामा बाढीको पानी आउनुअगावै आवश्यक सामग्रीको जोहो मिलाउनु गर्ने गरिएको थियो।
‘हाल खोलामा बाढी आए पनि पुल बनेकाले सहजरुपमा ओहोरदोहोर गर्न पाइएको छ’, स्थानीय बीना सार्कीले भने, ‘अब खोलामा बाढी आए पनि चिन्ता छैन, पुल बनेकाले सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ।’ श्रीलङ्का टोलमा ५६ परिवारको बसोबास रहेको छ। जसमध्ये अधिकांश दलित समुदायका रहेका छन्। महाकाली नदीले धार परिवर्तन गरी अन्यत्र बगेपछि छाडेको जग्गामा श्रीलङ्का टोलको बस्ती बसेको छ। टोलको मुहार फेर्नका लागि यसलाई नमूना बस्तीका रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष परमानन्द जोशीले बताएका छन्।
‘बस्ती जानका लागि सडक थिएन, हाल सडक निर्माण गरी ग्राभेल हालेका छौँ, खोलामा पुल थिएन, रु २६ लाख खर्चेर पुल बनाएका छौँ’, वडाध्यक्ष जोशीले भने, ‘टोलमै खानेपानीको ठूलो आयोजना निर्माण भइरहेको छ।’ टोलको मुहार फेर्नका लागि निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत झोपडीका ठाउँमा टोलका बासिन्दाका लागि पक्की घर निर्माण हुने भएका छन्। (रासस)