काठमाडौं– २०२० मा पनि जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा नेपालले भाग लिने भएको छ। आज(शुक्रबार)देखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ।
अध्यक्ष गुरुङको अनुसार प्रत्येक वर्ष आयोजना हुने साे मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको छ। नेपाली गलैंचाको अन्तर्रा्ष्ट्रिय बजार प्रवद्र्धन र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको उनले बताए।
गत वर्ष गलैंचाबाट आठ अर्ब ५० करोड रुपैँयाबराबरको विदेशी मुद्रा आर्जन गरीएको थियो। निर्यातजन्य वस्तुको सूचीमा प्रथम स्थानमा रहन सफल भएपनि केही वर्षयता यसको निर्यात क्रमशः घट्दै गएको छ।